नेपाल । मध्यपूर्वका देशमा देखिएका तनावका कारण नेपालमा शनिबारका लागि पूर्वनिर्धारित १८ वटा उडान रद्द हुँदा तीन हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् ।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा तेहरानले गरेको प्रत्याक्रमणपछि चुलिएको क्षेत्रीय तनावका कारण आठ वटा देशले आफ्नो हवाईक्षेत्र बन्द गरेका छन् । नेपालबाट संयुक्त अरब इमिरेटस (युएई) का तीन विमानस्थल सारजहा, दुबई र अबुधावी तथा दोहा (कतार), कुवेत, दमाम (साउदी) र स्तानबुल (टर्की) विमानस्थलमा हुँदै आएको उडान पूर्ण प्रभावित हुन पुगेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मध्यपूर्वमा विकसित घटनाक्रमसँगै इरान, इजरायल, इराक, जोर्डन, कुवेत, युएईले आफ्नो हवाईक्षेत्र बन्द गरेको छ । नेपालबाट सिधा उडान हुँदै आएका कतार, युएई, कुवेत र टर्कीका उडान रोकिएका छन् । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “पछिल्ला घटनाक्रमका बिच सतर्कता अपनाउँदै मध्यपूर्वका देशहरूले आफ्नो हवाईक्षेत्र अस्थायी रूपमा बन्द गरेपछि त्यसको असर नेपालबाट बाहिरिने र नेपाल फर्किने यात्रुमा परेको छ । उक्त देशहरूमा शनिबार बिहान उडान भए पनि दिउँसो र रातिका निर्धारित १८ वटा उडान रद्द भएका छन् ।”
उहाँले यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान र विमानस्थलमा रोकिएका यात्रुको व्यवस्थापन सम्बन्धित वायुसेवालाई नै गर्न निर्देशन दिएको बताउनुभयो ।
मध्यपूर्वमा बढ्दो तनावका कारण नेपालबाट शनिबार रातिका लागि निर्धारित नेपाल वायुसेवा निगमका तीन, कतार एयरवेजका चार वटा, फ्लाई दुबईका चार वटा, एयर अरेबियाको दुई, हिमालय एयरलाइन्सका तीन र कुवेत एयरवेजका दुई उडान रद्द भएको उहाँले बताउनुभयो । उहाँका अनुसार उडान रद्द हुँदा निगमका दमाम, दोहा र दुबई ओहोरदोहोरका लागि पाँच सय, कतार एयरवेजको आठ सय, फ्लाई दुबईका छ सय, एयर अरेबियाका तीन सय, हिमालयका दमाम, बुई र दोहातर्फका पाँच सय र कुवेत एयरवेजका करिब तीन सय यात्रु प्रभावित भएका छन् ।
नेपालबाट उडान गर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले दुबई, दमाम र दोहाका सम्पूर्ण उडान अस्थायी रूपमा बन्द गरेका छन् । यात्राका लागि विमानस्थल पुगेका यात्रु दुवैतर्फका विमानस्थलमै रोकिएका छन् । विकसित पछिल्लो तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले परिस्थितिको सूक्ष्म निगरानी गरिरहेको जनाउँदै तत्कालका लागि यी दुई देशको यात्रा नगर्नसमेत शनिबार एक एड्भाइजरी जारी गर्दै आग्रह गरेको छ । कतार, बहराइन, इजराइल, कुवेत, युएईलगायत खाडी मुलुकमा ठुलो सङ्ख्यामा रोजगारीका लागि पुगेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्