अमेरिका । अमेरिका लगायतका विभिन्न मुलुकमा बसोबास गर्दै आएका विभिन्न पेशामा आबद्ध गैरआवासीय नेपालीले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न अपील गरेका छन् ।
विभिन्न मुलुकमा बस्दै आएका ११८ जना डाक्टर, इन्जिनियर, प्राध्यापकलगायत विभिन्न पेशाकर्मी गैरआवासीय नेपालीले निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न अपील गरेका हुन् ।
एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नेपाली कांग्रेसलाई समर्थन गर्न अपील गरेका हुन् । नेपाली कांग्रेसभित्र सुधारको प्रक्रिया शुरू भएको जनाउँदै “बदलियो कांग्रेस, बदल्छौँ देश” भन्ने नारासहित पार्टी निर्वाचनमा होमिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
विविध भाषाभाषी, जातजाति र सांस्कृतिक पृष्ठभूमि भएको मुलुकमा समावेशी राजनीतिक शक्तिका रूपमा नेपाली कांग्रेसले नै देशलाई एकताबद्ध र समृद्धिको मार्गमा डोहोर्याउन सक्ने उल्लेख छ ।
गैरआवासीय नेपालीहरूले नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया तथा संविधान निर्माणमा कांग्रेसको नेतृत्वदायी भूमिकालाई स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको प्रभावकारी कार्यान्वयनका लागि अनुभवी र लोकतन्त्रप्रति प्रतिबद्ध नेतृत्व आवश्यक रहेको जनाएका छन् ।
अमेरिकास्थित प्राध्यापक डा यादव पण्डितले नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा मुलुकको रूपान्तरणकारी र स्पष्ट मार्गदर्शन सहितको भिजन र कार्ययोजना ल्याएकाले यो आम चुनावमा कांग्रेस नै एकमात्र भरपर्दो विकल्पको रुपमा उपस्थित भएको जानकारी दिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्