३ फाल्गुन २०८२, आईतवार

मकवानपुरे मतदाताको घरघरमा नेपाली काँग्रेसकी डीना उपाध्याय

कोलोराडोखबर संवाददाता , February 15th, 2026

नेपाल । नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री एवं मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिना मत माग्दै घरघर पुगिरहनु भएको छ ।

उक्त अवसरमा उनले जनताबाट अनुमोदन भएर जनताकै हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ‘जनताले कांग्रेसप्रति विश्वास गरिरहेका छन् । मतदाताकोमा जाँदा त्यो खालको माया पाइरहेका छौं’, उहाँले भन्नुभयो, ‘यहाँको समस्या समाधानसहित जनताकै बीचमा बसेर पाँच वर्ष काम गर्नेछु । जिताएर त्यो अवसर प्रदान गरिदिनुहुनका लागि आग्रह गर्दछु ।’

कांग्रेस हेटौँडा उपमहानगरपालिका वडा नं ४ समितिले शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले सांसद् बन्नकै लागि मात्र निर्वाचनमा भाग लिन नआएको बताउनुभयो ।

उहाँले सम्मून्नत नेपाल निर्माणको सङ्कल्प लिएर कांग्रेस निर्वाचनमा आएको भन्दै उहाँले सुशासनयुक्त र सम्मून्नत नेपाल निर्माण कांग्रेसको सङ्कल्प भएको बताउनुभयो । उहाँले आफू जितेर गएपछि संविधानमा महिला, युवा, आदिवासी जनजातिलगायतका समुदायको पक्षमा लेखिएका सवाललाई कार्यान्वयन गर्न लाग्ने बताउनुभयो ।

‘आज कांग्रेसको निर्णयले मुलुक निर्वाचनमा होमिएको छ । अघिल्लो पटक गठबन्धनको मत जोडेर ढुक्क भएर बस्नाले चुनावमा पराजित भए’, उहाँले भन्नुभयो, ‘यो पटक फेरिएको कांग्रेसका बद्लिएका नेताहरु हामी एक भएर मकवानपुरमा चुनाव जित्ने र भिजन भएका युवा नेता गगन थापालाई प्रधानमन्त्री बनाउने गरी आएका छौँ ।’ जिल्लाको विकास र जनताका चाहना पूरा गर्नका लागि निरन्तर लागिपरेको भन्दै उहाँले जिताएर पठाएपछि नीति निर्माणसँगै नागरिकको सेवामा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा कांग्रेसका समानुपातिक तर्फका उम्मेदवारहरु शर्मिला श्रेष्ठ, पवित्रा विश्वकर्मालगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्