नेपाल । देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०८२ बाट वरिष्ठ पत्रकार, जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।
नेपाली पत्रकारितामा निडर पात्रका रूपमा परिचित श्रेष्ठले पत्रकारिताको माध्यमबाट विकृति, विसङ्गतिविरुद्ध तथा आमनागरिकका चासोमा निर्भीक रूपमा निरन्तर प्रश्न उठाएर सूचना प्रवाहमा विशिष्ट योगदान पुर्याएबापत करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरले यो पुरस्कार प्रदान गरेको हो ।
करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा नयाँ करेन्ट तथा तत्कालीन नेपाल पोस्टका सम्पादक प्रकाशक स्व. देवेन्द्र गौतमकी धर्मपत्नी प्रदीपा गौतमले श्रेष्ठलाई शुक्रबार स्व. गौतमको जन्मजयन्तीका अवसरमा सम्मान गर्नुभएको हो । सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
त्यस्तै करेन्ट पब्लिकेसनमा ३५ वर्षभन्दा बढी समयदेखि प्राविधिकको भूमिकामा रहँदै आउनुभएका प्राविधिक हरि थापामगरलाई पनि देवेन्द्र गौतम पत्रकारिता सम्मान २०८२ प्रदान गरिएको छ । यस्तै चाइना न्युज सर्भिसका वरिष्ठ पत्रकार झाङ छनयी (चीन) लाई सञ्चार माध्यममार्फत नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाउन पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप उक्त पत्रकारिता सम्मान प्रदान गरियो ।
सम्मानपश्चात् पत्रकार श्रेष्ठले स्व. देवेन्द्र गौतमले नेपाली पत्रकारितामा पु¥याउनुभएको योगदानको स्मरण गर्दै अहिलेको पुस्ताका पत्रकारले धेरै कुरा सिक्न बाँकी रहेको बताउनुभयो । आफू पनि गौतमको पत्रकारिताबाट प्रभावित भएको भन्दै उहाँले आफूले पत्रकारिता गर्ने क्रममा कोही कसैसँग पनि सम्झौता नगरेको स्पष्ट पार्नुभयो । थापामगर र चाइना न्युज सर्भिसका वरिष्ठ पत्रकार झाङ छनयीलाई प्रदान गरिएको सम्मान ५०–५० हजार रुपियाँसहित छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्