नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले कुनै तत्वले निर्वाचनको वातावरण बिगार्न खोजे तत्कालै त्यस्ता प्रवृत्ति निरुत्साहित गर्न निर्देशन दिनुभएको छ ।
कोशी प्रदेशका निर्वाचनसम्बद्ध पदाधिकारी र सुरक्षा प्रमुखसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिँदै उहाँले निर्वाचनको वातावरण बिथोल्न खोज्ने प्रवृत्तिप्रति जागरुक हुन निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि कसैले वातावरण बिगार्न खोजे सचेत हुन निर्देशन दिनुभयो ।
निर्वाचनका लागि भएको तयारीको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले आउँदा दिनमा पनि सबै निकायबिच समन्वयका साथ अघि बढ्न र चुस्त दुरुस्त व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले छोटो समयमा निर्वाचनसम्बद्ध पदाधिकारी र सुरक्षा निकायले राम्रो काम गरेको बताउनुभयो । उहाँले निर्वाचन सफल हुने र देशले निकास पाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि कोशी प्रदेशको अवस्थाका बारेमा छलफल गर्नुभएको हो । कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायब महानिरीक्षक विनोद घिमिरेका साथै विभिन्न जिल्लाका मुख्य निर्वाचन अधिकृतहरू, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी, प्रमुख जिल्ला अधिकारीहरूको पनि उपस्थिति थियो । कार्यक्रममा नेपाली सेनाका पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोशी प्रदेशको सुरक्षा अवस्था र निर्वाचनलक्षित योजनाका विषयमा प्रस्तुतीकरण दिनुभयो ।
यसअघि प्रधानमन्त्री कार्कीले सोलुखुम्बुका नाम्चे र सल्लेरी तथा भोजपुर सदरमुकाममा पनि निर्वाचनको तयारी र वस्तुस्थितिका बारेमा जानकारी लिनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्