नेपाल । नेपाली कांग्रेसकी निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले कांग्रेस भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।
उहाँले कांग्रेस सुधारिएर आएको र देशलाई आर्थिक एवम् सामाजिक रुपमा बदल्ने सङ्कल्प लिएको बताउनुभयो ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का कांग्रेसका उम्मेदवार उपाध्यायले आसन्न प्रतिनिधि सभा निर्वाचन लक्षित गरी हालै मकवानपुरगढी गाउँपालिकाका विभिन्न वडामा मङ्गलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट र सम्पर्क कार्यालय स्थापना कार्यक्रम गरेको यस्तो बताउनुभएको हो ।
मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा आयोजित कार्यक्रममा कांग्रेस नेतृ उपाध्यायले मतसँगै नेता, कार्यकर्ता र शुभेच्छुकको मन जोड्न आफू उम्मेदवार बनेको आएको बताउनुभयो । युवालाई उत्पादनसँग जोड्नु कांग्रेसको अबको प्रमुख लक्ष्य भएको नेतृ उपाध्यायको भनाई थियो ।
रोजगारीको अवसर सिर्जना अबको हाम्रो मूल योजना हुनुपर्छ उहाँले भन्नुभयो, देश सङ्कटमा परेको समयमा सबै एकजुट भएर हिड्नु आवश्यक छ । उहाँले नयाँ नेतृत्व र विचारसहित कांग्रेस जनता माझ आएको स्पष्ट पार्नुभयो ।
कांग्रेस मकवानपुरले निर्वाचनको मिति नजिकिएसँगै कार्यकर्ता परिचालन र मतदाताको घरघरसम्म पुग्न वडा तहको कार्यक्रमलाई तीव्रता दिएको छ ।
कार्यक्रममा कांग्रेसका जिल्ला सचिव भीमसेन महत, जिल्ला सदस्य राजकुमार गोले, निर्वाचन परिचालन समितिका सदस्य रीता खनाल, क्षेत्र नम्बर १ का संघीय सभापति दामोदर खनाल, क्षेत्र नम्बर २ का संघीय सचिव बलराम घिमिरे, मकवानपुरगढी गाउँ सभापति राजवीर मुक्तान, वडा नम्बर २ का जिल्ला प्रतिनिधि हरि वाग्ले, वडा नं ३ का जिल्ला प्रतिनिधि विजय पुडासैनी, वडा नम्बर २ का सभापति रामप्रसाद पुडासैनी, नेपाल महिला संघकी सभापति शान्तिमाया गोले, सर्कलाल लोलगायतले बोल्नुभएको थियो ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसका जिल्ला प्रतिनिधि एवम् जिल्ला समिति सदस्य राजकुमार गोलेको अध्यक्षतामा, वडा नम्बर ३ मा वडा सभापति विजय थोक्कर लामाको अध्यक्षता र वडा नम्बर २ मा वडा उपसभापति राजेश थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्