२४ माघ २०८२, शनिबार

दुई नयाँ नेपाली चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ एकसाथ प्रदर्शनमा

कोलोराडोखबर संवाददाता , February 7th, 2026

नेपाल । शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ देशभर एकसाथ प्रदर्शनमा आएका छन् ।

दिनेश राउत निर्देशित ‘कुमारी’ युवा–युवतीको प्रेम कथामा आधारित छ । विनिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा दुई अनुहारलाई प्रस्तुत गरिएको छ । अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन् ।

घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्कीलगायतको अभिनय रहेको चलचित्रमा विकास सुवेदीको लेखन र सुसन प्रजापतिको छायाङ्कन रहेको छ । केदार भुसाल कार्यकारी निर्माता रहनुभएको चलचित्रले देशभरका हलमा १५२ सो पाएको छ ।

यस्तै सुदीप्ता अधिकारी निर्देशित चलचित्र ‘रमिताको पिरती’ मायाप्रेम र बिछोडको कथामा आधारित छ । अभिनेत्री आना शर्माको मुख्य भूमिकामा रहेको चलचित्रमा युवापुस्तामा देखिने प्रेम र बिछोडपछिको मानसिक अवस्थालाई चित्रण गरिएको छ ।

चलचित्रमा नायिका शर्मासँगै विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङलगायतको अभिनय रहेको छ । सागर लम्साल निर्माता रहनुभएको चलचित्रमा नायिका शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माताका रूपमा रहनुभएको छ । चलचित्रले देशभर ९३ सो पाएको छ ।

प्रतिक्रिया दिनुहोस्