१३ माघ २०८२, मंगलवार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

कोलोराडोखबर संवाददाता , January 27th, 2026

नेपाल । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । आफ्नो धार्मिक भ्रमणका क्रममा दिउँसो मन्दिर पुगेका उनले जानकी माताको दर्शन गरी देशको कल्याणको कामना गरे।

पूजापाठ सम्पन्न भएपछि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले पूर्व राजा शाहलाई जानकी मन्दिरको चाँदीको प्रतिमा उपहार स्वरूप प्रदान गरे। सो अवसरमा महन्थ दासले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै २०४७ साल पछिका संवैधानिक व्यवस्था हटाउन पूर्व राजालाई आग्रह गरे । उनले देशमा राजतन्त्रसहितको हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि देशभरका सम्पूर्ण साधुसन्तहरू आन्दोलनमा उत्रिन र साथ दिन तयार रहेको समेत उद्घोष गरे ।

मन्दिर दर्शनपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व राजा शाहले आफ्नो जनकपुर भ्रमण विशुद्ध धार्मिक मात्र रहेको बताए । यद्यपि, उनलाई हेर्न र स्वागत गर्न जनकपुरधामका साथै छिमेकी जिल्लाहरूबाट समेत हजारौँको सङ्ख्यामा सर्वसाधारण मन्दिर परिसरमा ओर्लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्