१२ माघ २०८२, सोमबार

अमेरिकामा हिमआँधी र हिमपहिरोका कारण जनजीवन पूर्णरूपमा प्रभावित

कोलोराडोखबर संवाददाता , January 26th, 2026

अमेरिका । अमेरिकाको विभिन्न भागमा आएको शक्तिशाली हिमआँधी र हिमपहिरोका कारण जनजीवन पूर्णरूपमा प्रभावित भएको छ । शनिबारदेखि सुरु भएको यो प्राकृतिक प्रकोपले हजारौँ उडान रद्द हुनुका साथै यातायात र विद्युत् आपूर्तिमा समेत ठुलो अवरोध पुर्‍याएको छ ।

स्थितिको गाम्भीर्यलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा १२ वटा राज्यमा आपतकाल घोषणा गर्नुभएको छ । सङ्घीय आपतकालीन व्यवस्थापन एजेन्सी (फेमा) ले प्रभावित राज्यहरूमा राहत सामग्री, आवश्यक कर्मचारी र खोज तथा उद्धार टोलीहरू तैनाथ गरेको छ । होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र अनावश्यक यात्रा नगर्न आग्रह गर्नुभएको छ ।

भारी हिमपात र बरफका कारण लुइसियाना र टेक्सस लगायतका क्षेत्रमा विद्युत् आपूर्ति गम्भीर रूपमा प्रभावित भएको छ । पछिल्लो तथ्याङ्क अनुसारः

–एक लाख ४० हजारभन्दा बढी घरधुरी अन्धकारमा छन् ।

–टेक्ससको शेबली काउन्टीमा रुखहरू ढल्दा करिब एक तिहाइ ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन् ।

–लुइसियानाको डेसोटो पेरिशमा झन्डै आधा घरधुरीमा बिजुली छैन ।

आँधीका कारण हवाई यातायातमा ठुलो असर परेको छ । शनिबार र आइतबार मात्रै अमेरिकाभर १३ हजारभन्दा बढी उडान रद्द गरिएका छन् । डलास–फोर्ट वर्थ अन्तर्राष्ट्रिय हवाईअड्डामा मात्रै ७०० भन्दा बढी उडान अवरुद्ध भएका छन्, जसका कारण हजारौँ यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् ।

मिडवेस्ट क्षेत्रमा तापक्रम डिग्री सेल्सियससम्म झरेको छ । मौसमविद् एलिसन सान्तोरेलीका अनुसार हिउँ र बरफ पग्लन समय लाग्ने भएकाले उद्धार कार्य झन् कठिन हुने देखिएको छ । मिनियापोलिस जस्ता सहरहरूमा हावाको चिसोले गर्दा बाहिर निस्कन समेत चुनौतीपूर्ण बनेको छ ।

प्रतिकूल मौसमका कारण न्यासभिल, डलास, ह्युस्टन, फिलाडेल्फिया र मेम्फिसका विद्यालयहरू बन्द गरिएका छन् । सार्वजनिक कार्यक्रमहरू समेत रद्द भएका छन् । प्रसिद्ध ग्रान्ड ओले ओप्री ले दर्शकबिना नै आफ्नो प्रस्तुति सम्पन्न गर्नुपरेको छ ।

मौसमविद् जोश वीसका अनुसार यस आँधीको प्रभाव क्षेत्र निकै फराकिलो रहेकाले आगामी केही दिन अझै चिसो बढ्ने सम्भावना छ । फोटो–एएफपी

प्रतिक्रिया दिनुहोस्