-हेम गिरी (अरोरा, कोलोराडो) । नेपाली भाषा तथा संस्कृति संरक्षणको प्रयासमा सक्रिय रहेको कोलोराडोको नेपाली भाषी भूटानी समुदायले जनवरी २४ मा बसन्त पञ्चमीको अवसरमा सरस्वती पूजा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
कोलोराडोबाट सञ्चालन भइरहेको नेपाली कक्षा र कोलोराडो भजन समूहको संयुक्त आयोजनामा अरोराको म्याङ्गो हाउसमा आयोजित यस कार्यक्रममा स्थानीयहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य आकर्षण सरस्वती पूजासँगै नेपाली कक्षाका विद्यार्थीहरूको नृत्य प्रस्तुति रहेको थियो । विद्यार्थीहरूले प्रस्तुत गरेको परम्परागत नेपाली नृत्यले दर्शकहरूलाई मोहित बनाएको थियो । यसका साथै, कार्यक्रममा विभिन्न अतिथिहरूले नेपाली भाषा, संस्कृति र समुदायको महत्वबारे मन्तव्य राखेका थिए ।
कार्यक्रमको अध्यक्षता धराणी ढकालले गरेका थिए । प्रमुख अतिथिका रूपमा किरात कल्चरल कम्युनिटी कोलोराडोका अध्यक्ष सह सुब्बा उपस्थित थिए ।
कार्यक्रममा जीबीसीसीका सचिव मणि खालिङ राई, स्थानीय अगुवा केदार खतिवडा, विर्ख गुरुङ लगायतले आफ्ना विचारहरू व्यक्त गरेका थिए । उनीहरूले नेपाली समुदायको एकता र सांस्कृतिक संरक्षणको आवश्यकताबारे जोड दिए ।
कार्यक्रमको सञ्चालन चूड़ामणि बरालले गरेका थिए । आयोजकहरूका अनुसार, यो कार्यक्रमले नेपाली भाषा तथा संस्कृतिलाई अमेरिकामा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । कार्यक्रममा सहभागीहरूले यस किसिमको कार्यक्रम आयोजना भएका कारण समुदायमा राम्रो सन्देश जाने बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्