११ माघ २०८२, आईतवार

मधेश प्रदेशको समुन्नतिलाई प्राथमिकतामा राखेर काम गर्ने गगन थापाको उद्घोष

कोलोराडोखबर संवाददाता , January 25th, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक रूपान्तरणमार्फत समुन्नत नेपालको अवधारणा साकार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सर्लाहीका मतदातासँग शनिबार काठमाडौँमा सम्पन्न अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले युवापुस्ताको परिवर्तनको आकाङ्क्षा र मुद्दालाई समयसापेक्ष कार्यान्वयन गर्ने दृढता व्यक्त गर्नुभएको हो ।

उहाँले राजनीतिको अबको मुख्य मुद्दा नै रोजगारी सिर्जना हुनुपर्ने प्रस्ट पार्दै नेपालमा बसेर दुईरतीन लाख रुपियाँ आम्दानी गर्न सक्ने वातावरण बनाउन नीतिगत र योजनाबद्ध काम अघि बढाउने बताउनुभयो ।

सभापति थापाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले समग्र प्रणालीमै परिवर्तनको मुद्दा उठाएको बताउँदै युवाको निराशालाई सम्बोधन गरेर अघि बढ्ने अठोट व्यक्त गर्नुभयो । उहाँले युवाको परिवर्तनको चाहना आन्दोलनमार्फत व्यक्त भएको र त्यसलाई अपनत्व ग्रहण गरिएको, पार्टीको नीति र नेतृत्व परिवर्तन गरेर नागरिकका आकाङ्क्षालाई योजनाबद्ध पूरा गर्न निर्वाचनमा होमिएको बताउनुभयो ।

सभापति थापाले काठमाडौँ क्षेत्र नं ४ मा तीन पटक जिते पनि सजिलो ठाउँ छाडेर चुनौती रोजेको बनाउनुभयो । उहाँले कांग्रेसको भविष्य मधेश प्रदेशसँग जोडिएको बताउँदै मधेश प्रदेशको समुन्नतिलाई प्राथमिकतामा राखेर काम गर्ने उद्घोष गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्