-लालगोपाल सुवेदी-
दुई हात जोड्दा नमस्कार हुन्छ
यही नम्रताले मनैभित्र छुन्छ
दसै अंगुठीको यही नै कला हो
यही सभ्यताको सुनौलो तला हो ।
जहाँ पाँच औँला त्यहीँ कर्मवाद
त्यतै फैलिएथे बिहानी चिराग़
गरे देवताको सबैले नमस्ते
जगाए स्वयंमा अनौठो रहस्य ।
तिमी माझिनेछौ बँचाए नमस्ते
तिमी खारिनेछौ सजाए नमस्ते
उदायो नमस्ते उता पूर्वबाट
भएथे ध्वजाझैँ सबैका ललाट !
तिमी त्याग्न सक्छौ विनाशी घमण्ड
तिमी बन्न सक्छौ धराकै सुगन्ध
नमस्ते— यही सभ्यताको कड़ी हो
नमस्ते भनेको कहाँ चाकडी हो ?
तिमी फाल्न सक्छौ मनैका विकार
क्षमाशील बन्छौ तिमी बारबार
बुबा भन्नुहुन्थ्यो नमस्ते नमाग
फलाऊ, फुलाऊ सधैँ पूर्ववाद
जहाँ हुन्छ डाहा नमस्ते हुँदैन
घृणा-भाव जागे नमस्ते हुदैन
कता ढल्किँने हो नमस्कारवाद?
कता लम्किने हो नयाँ यो समाज ?
-अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्