नेपाल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बुधबार मुलुकभर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज माघ ६ गते कांग्रेसका उम्मेदवारले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।
विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको पदाधिकारी सम्मिलित संसदीय बोर्डले आजैमात्र सबै निर्वाचन क्षेत्रका लागि पार्टीको आधिकारिक उम्मेदवारको टुङ्गो लगाएको थियो । कांग्रेसले सुदूरपश्चिमका १६, कर्णालीका १२, लुम्बिनीका २६, गण्डकीका १८, बागमतीका ३३, मधेसका ३२ र कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको हो ।
कांग्रेस पदाधिकारीमध्ये सभापति गगनकुमार थापाले सर्लाही–४, महामन्त्री प्रदीप पौडेल काठमाडौँ–४, गुरुराज घिमिरे मोरङ–४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्