३ माघ २०८२, शनिबार

कविताः नारी

कोलोराडोखबर संवाददाता , January 17th, 2026

-आरसी रिजाल-

अनौठो नै लाग्छ मलाई यो समाजको चाल
आधी आकाश उठाउनेको सुन्नुस् हजुर हाल
नारीलाई अबुझ भन्दै शास्त्रकारले तोके
महाभारत , रामायणले मज्जैसँग ठोके
सत्य भन्छु — रामो राम
सीता त्याग्ने मर्यादापुरुष बने राम।

बालबिवाह,बहुबिवाहा, अन्यायका गाथा
बोक्सीको आरोपमा नारी ठोक्छिन माथा
कहिले पिता,कहिले पति,कहिले छोराको
खट्नपट्न भित्र बस्ने चलन गराको
सत्य भन्छु– रामो राम
दाइजो कमको निहुँमा शरीरभरि डाम।

नारीलाई फुर्सद दिन्नन गर्नसम्म हाइ
वृद्धदेखि बालसम्मको सुसारे र धाई
लाजैलाग्छ यो समाजले असहाय मान्यो
मातृत्वको माहानतालाई कमजोरी पो ठान्यो
सत्य भन्छु — रामो राम
कुखुराको डाँकोदेखि गर्छन् तिनले काम ।

सेमिनारको नाममा यहाँ धेरै भए खर्च
समाजको मानसिकता अब फेर्नु पर्छ
खोस नारी अधिकार नमानेर धक
शिक्षा अनि सम्पत्तिमा बराबरी हक
सत्य भन्छु — रामो राम
आँट्यौ भने गर्नसक्छौं हामी यति काम।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्