२७ पुष २०८२, आईतवार

लघुकथा: वीरगति

कोलोराडोखबर संवाददाता , January 10th, 2026

-आरसी रिजाल-
छोराले घरभन्दा ४/५ कान्लो माथिदेखी ” आमाआमा “भन्दै चिच्याएको सुनेर सुपार्नी बुढी आत्तिएर — के भयो बाबू ? भन्दै आगनमा निस्किन्।

छोरा — आमा मलाई बिदेश जाने चिठ्ठा पर्‍यो ।

सुपार्नी बुढी — कति रुपैयाँको बाबू ?

छोरा — कतिकति हजारौं ,लाखौं ! आमा अब इट्टाको गारो भएको घरमा तपाइँलाई राखौला।म पनि लाठे भैहालेँ।अब ४/५ बर्षपछि बुहारी पनि भित्र्याउला। तपाईंका दुखका खड्गो कटे आमा भन्दै खुट्टामा बारम्बार ढोक्याढोक्यै गर्‍यो ।

गाउँलेहरू ” गर्भे टुहुराको दिन फिर्छ ” भन्थे हो रैछ भनी गफ गर्नथाले । गोर्खाली त्यसमाथि हट्टाकट्टा गोराको फौजमा छनौट भयो। बेलाबेला युद्धभूमि गइरहेकै हो।यसपटक पनि अग्रपंक्तिमै थियो। तर “आमा” भनेर ढल्यो रे!

सुपार्नी बुढी उबेलाँ गाउँको घरनबिराइ हाँस्दै ” छोराले जागीर पायो ” भन्दै हिँडेकी थिइन् । हिँड्न त ऎले पनि हिँडेकी छिन । तर विक्षिप्तभै झाँक्रो फिझाएर कराउँदै — ” मेरो छोराले वीरगति पायो! मेरो छोराले …………..” भन्दै। गाउँका युवा देख्नासाथ — ए तिमरुलाई लाज लाग्दैन ? जाओ तिमरु पनि वीरगति लिन भन्दै लखेट्छिन रे!।

-हेटौंडा मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्