२६ पुष २०८२, शनिबार

दक्षिण कोरिया जान ‘रोस्टर’ मा परेर पनि जान नपाएकाको पक्षमा निर्णय गर्न समिति गठन

कोलोराडोखबर संवाददाता , January 9th, 2026

नेपाल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जान ‘रोस्टर’ मा परेर पनि जान नपाएका १२ हजार नेपाली श्रमिकको पक्षमा निर्णय गर्ने गरी समितिसमेत गठन गरेको छ ।

कोरिया जान भाषा र सिप परीक्षा उत्तीर्ण गरेर जाने प्रतीक्षामा रहेका युवाको म्याद सकिन दुई महिना मात्रै बाँकी रहँदा श्रम मन्त्रालयले कोरियासँग युवाको पक्षमा कूटनीतिक पहल गर्ने प्रतिबद्धतासहित समिति गठन गरेको हो ।

श्रम मन्त्रालयले रोस्टरमा रहेका व्यक्तिको निजी विवरण रोजगारदातासमक्ष पठाउने प्रक्रियालगायत विषयको पारदर्शिता र निष्पक्षता कायम गर्न आवश्यक सुझावसहितको सिफारिस गर्न वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको संयोजकत्वमा छानबिन समितिसमेत बनाएको छ ।

संयोजक घिमिरेले रोस्टरको म्याद थप गर्ने विषयमा कोरियासँग कूटनीतिक पहल गरिने जानकारी दिनुभयो । उहाँले इपिएस प्रणाली अन्तर्गत कोरिया जाने रोस्टर रहेका युवाको समस्या छिटो सम्बोधन गर्नका लागि इपिएस प्रणालीको कार्यान्वयन गर्ने जिम्मेवार निकाय कोरिया सरकार अन्तर्गतको मानव संसाधन विभाग (एचआरडी) सँग कोटा वृद्धिका विषयमा कूटनीतिक पहल गरिने जानकारी दिनुभयो ।

इपिएसमार्फत कोरिया जान भाषा, सिप परीक्षा र स्वास्थ्य परीक्षा रोस्टरमा परेका १२ हजार युवाको म्याद आउँदो फेबु्रअरीमा सकिन्छ । इपिएस कोरिया शाखाका अनुसार रोस्टरमा रहेका १२ हजार युवा सन् २०२४ मा कृषि, पानीजहाज र कोरियाबाट फर्केर पुनः छानिएका अन्तर्गतका हुन् ।

नेपाल र कोरियाबिचको श्रम सम्झौता अनुसार भाषा परीक्षा, सिप परीक्षण र स्वास्थ्यमा उत्तीर्ण भएकालाई रोस्टरमा राखिने गरिएको छ । रोस्टरमा म्याद सकिन लागेको भन्दै युवाले म्याद थपको माग गर्दै पटक पटक इपिएस कार्यालयमा धर्ना दिने काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्