२५ पुष २०८२, शुक्रबार

आगामी निर्वाचनका लागि आवश्यक नमुना मतपत्र छपाइ सुरु

कोलोराडोखबर संवाददाता , January 8th, 2026

नेपाल । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक नमुना मतपत्र छपाइ बुधबारदेखि सुरु भएको छ ।

निर्वाचन आयोगको समन्वयमा जनक शिक्षा सामग्री केन्द्रले नमुना मतपत्र छाप्न सुरु गरेको हो । मङ्गलबार डमी मतपत्र छापिएको भए पनि बुधबारदेखि पूर्ण रूपमा अन्य मतपत्र छाप्न सुरु गरिएको हो । नमुना मतपत्र १० लाख थान छापिने केन्द्रले जनाएको छ । यो काम बिहीबार सकिने छ ।

नमुना मतपत्र गाउँ गाउँमा मतदाता शिक्षाका लागि प्रयोग गरिने छ । नमुना मतपत्र छपाइ सकिएपछि समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुने छ । समानुपातिकको मतपत्र दुई करोड आठ लाख ५० हजार थान छापिने छ ।

यो काम माघ ९ गते सक्ने जनक शिक्षा सामग्री केन्द्रको योजना छ । त्यसपछि माघ १२ गतेबाट प्रत्यक्षतर्फको मतदानका लागि मतपत्र छपाइ सुरु गरिने केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिनुभयो । प्रत्यक्षतर्फको मतदानका लागि दुई करोड थान मतपत्र छापिने छ ।

यी मतपत्र छपाइका लागि केन्द्रले चार वटा मेसिन तयारी अवस्थामा राखेको छ । सोही अनुसार जनशक्ति पनि तयारी अवस्थामा राखेको छ । मतपत्र छपाइ तयारीबारे निर्वाचन आयोगको प्रतिनिधिले यसअघि नै अनुगमन गरिसक्नुभएको छ । मतपत्र छपाइ स्थलमा नेपाली सेनाले सुरक्षा दिने जनक शिक्षाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्