२३ पुष २०८२, बुधबार

देशको अर्थतन्त्रको यथार्थ तस्बिर तयार पार्न राष्ट्रिय आर्थिक गणना गरिंदै

कोलोराडोखबर संवाददाता , January 6th, 2026

नेपाल । देशको अर्थतन्त्रको यथार्थ तस्बिर तयार पार्ने उद्देश्यसहित सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ मूल नारासहित आगामी चैतदेखि देशव्यापी बृहत् अभियान घोषणा गरेको हो ।

तथ्याङ्क कार्यालयले बुधबार आयोजित कार्यक्रममा गणनाको कार्यतालिका, लोगो र नारा सार्वजनिक गरेको हो । यस गणना अन्तर्गत २०८२ चैत १ देखि २०८३ असार मसान्तसम्म देशभर तथ्याङ्क सङ्कलन गरिने भएको छ । गणनाबाट प्राप्त विवरणका आधारमा आर्थिक वर्ष २०८३–८४ को सुरुवातदेखि नै नतिजा सार्वजनिक गरिने लक्ष्य राखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक गणनाले उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा सार्वजनिक–निजी संस्थाहरूको सङ्ख्या, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विस्तृत विवरण सङ्कलन गर्ने छ । यसले जिडिपी अनुमान सुदृढीकरण, राष्ट्रिय लेखा प्रणालीको आधार वर्ष परिमार्जन तथा सरकारी नीति निर्माण र विकास योजना तर्जुमा गर्न आधार प्रदान गर्ने तथ्याङ्क कार्यालयले जनाएको छ ।

यसअघि २०७५ सालमा सम्पन्न पहिलो राष्ट्रिय आर्थिक गणनाले देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान गणना गरेको थियो भने ३२ लाख २८ हजार ४५७ जनशक्ति संलग्न रहेको पाइएको थियो । त्यसमध्ये करिब ३० प्रतिशत (२९.६ प्रतिशत) महिला व्यवस्थापक रहेको विवरण सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्