२३ पुष २०८२, बुधबार

अमेरिकाको कोलोराडो राज्यबाट अक्टोवर २३ लाई नेवाः डे घोषणा

कोलोराडोखबर संवाददाता , January 6th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडो राज्यले अक्टोबर २३ तारिखलाई औपचारिक रूपमा नेवाः डे को रूपमा मान्यता दिने घोषणा गरेको छ।

नेवाः समुदायको सांस्कृतिक पहिचान, भाषा, रितीस्थिती र परम्पराको सम्मान स्वरूप अक्टोबर २३ तारिखलाई औपचारिक रूपमा नेवाः डे घोषणा गरेको कोलोराडो राज्यका गभर्नर जारेड पोलिसद्वारा हस्ताक्षार गरी जारी गरिएको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

कोलोराडो नेवाः खलःको आयोजनामा नेवाः डे घोषणा सम्बन्धी जानकारी सार्वजानिक गर्न आइतवार नेपाली घरमा आयोजित प्रेस मिट कार्यक्रममा संस्थाका महासचिव सञ्जय शाक्यले नेवाः डे घोषणा सम्बन्धी सम्पुर्ण जानकारी गराएका थिए ।

कार्यक्रममा खलःलाइ कोलोराडो स्टेटबाट प्राप्त प्रमाण पत्र समाजसेवीद्वय डा। विजयराज शर्मा र नारायण श्रेष्ठले संयुक्त रूपमा अनावरण गरेका थिए । अनावरण पछि समारोहलाई सम्बोधनगर्दै डा। विजयराज शर्माले नेवाः डे घोषणा हुनु हामी सबै नेपालीहरूकोलागी गौरवको विषय भएको भन्दै यसले नेपाल र नेपालीको शिर उच्च बनाएको बताए । यसैगरी नारायण श्रेष्ठले नेवाः खलको सकृयता र अथक प्रयासबाट आज महत्वपूर्ण उपलब्धि हांसिल भएको भन्दै यसले नेवारी संस्कृतिको संरक्षणमा सहयोग पुर्‍याउने बताएका थिए ।

कोलोराडोका गभर्नर जारेड पोलिसको हस्ताक्षर र राज्यको कार्यकारी छाप सहित प्राप्त प्रमाण पत्रमा काठमाडौँ उपत्यकाका आदिवासी नेवाः समुदायको सांस्कृतिक सम्पदा, भाषा, कला र रितिस्थिती परम्पराको प्रशंसा गरिएको छ । कोलोराडोमा बसोबास गर्ने नेवाः समुदायले राज्यको सांस्कृतिक विविधता र आर्थिक समृद्धिमा दिएको योगदानप्रति उच्च मुल्याङकन गर्दै धन्यवाद प्रकट गरिएको छ ।

प्रमाण पत्रमा कलोराडो नेवाःखलः नामक गैर नाफामूलक संस्थाले नेवाः संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धनगर्न निरन्तर सक्रिय रहेको छ । उक्त संस्थाले कोलोराडो भरिका नेवाः र अमेरिकीहरूबिच आपसी सद्भाव र एकताको भावना मजबुत बनाउँदै आएको उल्लेख गरिएको छ । नेवाः समुदायको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै म जारेड पोलिस, कोलोराडो राज्यको गभर्नरको हैसियतले अक्टोबर २३ लाई नेवाः डेको रूपमा घोषणा गर्दछु भनिएको छ ।

नेपाली सांस्कृतिक केन्द्र घरमा आयोजित कार्यक्रममा स्थानीय संघ–संस्थाका प्रतिनिधि बुद्दिजिवी समाजजेवीहरूको तथा खलका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष भुषण श्रेष्ठले नेवाः समुदायको भाषा सांस्कृतिकलाइ विश्वभर फैलाउन तथा संरक्षणमा यसले महत्वपूर्ण योगदान दिने छ भन्दै स्टेटले नेवाः डेको मान्यता दिएको खुसी व्यक्त गरेका छन् । उनका अनुसार गतबर्ष अक्टोबर २३ मा न्हु दँया भिन्तुना परेको हुनाले त्यसै दिनलाई नेवाः डे का रूपमा मान्यता दिन स्टेटमा आवेदन दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्