नेपाल । गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ ले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान बुझेको छ ।
जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ एवं अध्ययन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री ओलीको जवाफ लिएको हो ।
यसअघि ओलीले सिंहदरबारस्थित जाँचबुझ आयोगमा गएर बयान नदिने बताउँदै आउनुभएको थियो । आइतबार आयोगको टोली पत्रसहित ओली निवास गुन्डुमै पुगेर लिखित जवाफ लिई फर्केको हो । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार ओलीले भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा लिखित जवाफ आयोगलाई बुझाउनुभएको छ ।
यता, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीसँग राष्ट्रिय मानव अधिकार आयोगले पनि बयान लिएको छ । आयोगको अनुसन्धान समितिले ओलीसँग आइतबार अढाई घण्टा बयान लिएको हो । आयोगका सदस्य एवं अनुसन्धान समिति संयोजक डा। लिली थापाका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशका तत्कालीन कार्यकारी प्रमुख र सुरक्षा परिषद् अध्यक्ष रहनुभएका ओलीसँग प्रदर्शनका सन्दर्भमा बयान लिइएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्