नेपाल । गजलकार नारायण नेपालले गजलको प्रस्तुति दिनुभएको छ । सर्वनाम थिएटरमा नेपालका पाँच वटा गजल साङ्गीतिक रूपमा प्रस्तुत भए भने पाँच वटा नेपाल स्वयम्ले तरन्नुममा वाचन गर्नुभएको थियो ।
नेपालका तीन गजलमा विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको सङ्गीत थियो, जसमा दुई गजलमा श्रेष्ठ स्वयम्ले स्वर दिनुभएको थियो । एउटा गजलमा गायिका जलजला परियारको आवाज रहेको थियो । यसै गरी दुई गजलमा नेपाल स्वयम्को धुनमा गायक तथा सङ्गीतकार भूपू पाण्डेले स्वर दिनुभएको थियो । सो प्रस्तुतिमा वाद्यवादन तवलामा शम्भु श्रेष्ठ र भ्वाइलिनमा यतिराज अधिकारी हुनुहुन्थ्यो ।
अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले ‘नेपाली गजल गायनको स्पर्ण दशक, विसं २०८०–९०’ सन्तोष श्रेष्ठ र आफूले दुई वर्षअघि घोषणा गरेको र यसबिचमा दर्जनजति प्रत्यक्ष गजल गायनका कार्यक्रम देशभर सम्पन्न भइसकेका जानकारी दिनुभयो ।
सो कार्यक्रममा गजलबारे प्राडा कृष्णहरि बरालले गजल गायनको शैली र प्रविधि भाषा, माटो, त्यहाँका साजबाज र सङ्गीतकार, गायकरगायिका अनुसार हुन सक्ने आशय व्यक्त गर्नुभयो । अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारको सभापतित्वमा सम्पन्न कार्यक्रम गजलकार ज्ञानु विद्रोहीले सहजीकरण गर्नुभएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्