नेपाल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विशेष महाधिवेशन गरी नयाँ नेतृत्व र कार्यक्रमसहित फागुनको चुनावका लागि जनतामा जानुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा विचार लेख्दै नेता केसीले त्यसो नगरी यथास्थितिमा रहनु दुर्घटना र आत्मघाती हुनेसमेत बताए ।
नेपाली कांग्रेसलाई पुनः समयसापेक्ष, विश्वसनीय र सशक्त लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न विधानको पालना गर्दै विशेष अधिवेशन अनिवार्य रहेको उल्लेख गर्दै नेता केसीले भनेका छन्, ‘सबै मिलेर विशेष अधिवेशन सहभागी बनौं,नवीन कांग्रेसको निर्माण गरौं। सहमति मै निकास निकालौं ,पार्टी विभाजन होईन अझ सशक्त ऊर्जाशील एकता निर्माण को बाटो खोजौँ । सबै पक्ष गम्भीर बनौँ । सबै महाधिवेशनका साथीहरु सहभागी बनौँ । सफल पारौँ र नयाँ कांग्रेस निर्माण गरौँ ।’
उनले लोकतान्त्रिक पद्धतिको सर्वमान्य, आधारभूत र अपरिहार्य सिद्धान्त भनेकै विधिको शासन भएको उल्लेख गर्दै राज्य, राजनीतिक दल वा कुनै पनि संस्थाका सबै निर्णय, गतिविधि र व्यवहारहरू विधान, नियमावली तथा स्थापित आन्तरिक प्रक्रियाअनुसार सञ्चालन हुनु नै वास्तविक लोकतन्त्रको आत्मा भएको उल्लेख गरेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्