-आरसी रिजाल-
धेरैपछि मर्निङवाकमा सायमी बुढासंग भेटभयो। हामी सानो चिया पसलमा छिर्यौँ ।कुराको सुरुवात उनैले गरे — सुन्नुस् रिजाल दाइ,हामि सरदर आयुमा पुग्नलाग्यौं। सन्तान आआफ्नो व्यबहारमा लागिहाले। पोहर चारदिन गृहलक्ष्मी बिमारीहुँदा भान्साको कामले आच्छुआच्छु पार्यो। त्यहिबेलादेखी साथीहरूलाई म जस्तो डिपिडेन्ट नहुनुस, श्रीमतिको काममा मज्जाले सघाउनुस्, पछि एक्लो हुँदा आफैलाई सहज हुन्छ । नत्र मन रुँदा पनि ङिच्च हाँसे झैं गर्नुपर्छ भन्दै आएको छु। यसपालि त झण्डै २० दिन पुर्ख्यौली घरमा एक्लै स्वयंपाक्यभै बिताएर आएँ।
मैले — लक्ष्मीले कसरी एक्लै जान दिइन् त ? भने।
सायमीले — बल्लतल्ल मनाएँ। हेर लक्ष्मी हामी दुबैलाई दैवले एक्कैचोटि उठाउने हैन।आखिर जो बाँच्छ त्यसले एक्लो हुँदाको न्यास्रोपन महसुस गर्नैपर्छ। ऎलेदेखी बेलाबेलामा छुट्टै बस्ने अभ्यास गर्दैजाँदा भबिस्यमा अपठ्यारो महसुस हुँदैन भनी सम्झाएँ । तर के गर्नु हामीलाई हुस्सु झैँ ठानेर उता पुगेको दिनदेखि — औसधि खानुभो,नुहाउन जानुभो, झ्याल,ढोका लगाउनुभो, आज के पकाउनुभो आदि सोधेर हैरान पार्थिन् भने।
घरमा आएर सायमी बुढाको भनाइ सम्झे । संस्कारको कारणले होला घरभित्रका धन्दा बुढाले गर्नलागे बुढीहरु अफ्नो अधिकार खोस्न आएझैँ गरि झर्केर — छाड्नुस तपाईंबाट यस्तो काम हुँदैन भन्दै खेदछ्न्। बुढी अघि बितिन् भने बुढा एक्लिने त भैहाले। त्यसैले हातखुट्टा चलुन्जेल कसैले परनिर्भर हुननपरोस्। कतिपय पुरुष महिलाले गर्ने घरायसी कामलाई ह्याएर गुहे धन्दा भन्छन् ।त्यही धन्दा नजान्दा बुढेसकालमा आफैं फन्दामा पर्छौं भन्ने सायमीको आसयले मेरो मन छोयो।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्