१८ पुष २०८२, शुक्रबार

सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटकले गरे नेपाल भ्रमण

कोलोराडोखबर संवाददाता , January 2nd, 2026

नेपाल । नेपाल पर्यटन बोर्डले बिहीबार सार्वजनिक गरेको पर्यटक आगमनसम्बन्धी विश्लेषणात्मक तथ्याङ्क अनुसार सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन त्यसअघिको सन् २०२४ को तुलनामा करिब ११ हजारले बढी हो । सो वर्ष ११ लाख ४७ हजार ५४८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

बोर्डका अनुसार अक्टोबरमा एक लाख २८ हजार ४४३ पर्यटक भित्रिएका थिए जबकी त्यसअघि २०२४ को अक्टोबरमा एक लाख २४ हजार ३९३ पर्यटक नेपाल आएका थिए । त्यस्तै नोभेम्बरमा एक लाख १६ हजार ५५३ पर्यटक भित्रिँदा २०२४ को नोभेम्बरमा एक लाख १४ हजार ४९६ जना नेपाल आएको तथ्याङ्क छ ।

डिसेम्बरमा पनि पर्यटकको सङ्ख्या त्यसअघिको वर्षको तुलनामा बढेको छ । गत डिसेम्बरमा ९८ हजार १९० पर्यटक नेपाल आएकोमा सन् २०२४ को सोही महिनामा ९२ हजार मात्रै आएका थिए ।

पछिल्ला केही वर्षयता नेपाल भित्रिने समग्र पर्यटकको सङ्ख्या पनि निरन्तर वृद्धि देखिन्छ । सन् २०२३ मा १० लाख १४ हजार ८८२ पर्यटक नेपाल आएकोमा सन् २०२४ मा एक लाख ४० हजारभन्दा बढी पर्यटकको सङ्ख्या बढेको तथ्याङ्कले देखाउँछ ।

नेपाल भ्रमणमा आउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । बोर्डका अनुसार सन् २०२५ मा दुई लाख ९२ हजार भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने पर्यटकको मात्र सङ्ख्या हो ।

भारतपछि सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकाका पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्ष एक लाख १२ हजार ३१६ अमेरिकी पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । त्यसअघि सन् २०२४ मा एक लाख ११ हजार २१७ अमेरिकी पर्यटक नेपाल आएका थिए । अमेरिकापछि धेरै पर्यटक आउने सूचीमा चीन रहेको छ ।

बोर्डका अनुसार ९५ हजार ४८० चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि ५७ हजार ५४५ जना बङ्गलादेशका पर्यटक नेपाल आएका छन् । एसियाली मुलुकमध्ये थाइल्यान्ड, जापान, दक्षिण कोरिया, मलेसियाबाट पनि नेपालमा उल्लेख्य सङ्ख्यामा पर्यटक आएको तथ्याङ्कले देखाउँछ ।

युरोपेली मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या सन् २०२४ को तुलनामा सात हजारले बढेर सन् २०२५ मा दुई लाख २१ हजार पुगेको छ । युरोपेली मुलुकमध्ये संयुक्त अधिराज्यबाट ५८ हजार ६८४ पर्यटक नेपाल आएका छन् । त्यसपछि जर्मनी, फ्रान्स, रसिया, इटाली, स्पेनलगायत मुलुक रहेका छन् ।

आसियान क्षेत्रमा अष्ट्रेलियाबाट आउने पर्यटक पनि बढेका छन् । सन् २०२४ को तुलनामा पाँच हजार बढेर ४९ हजार ३५७ जना अस्टे«लियाका पर्यटकले नेपाल भ्रमण गरेको बोर्डको तथ्याङ्क छ ।

अफ्रिकाबाट नेपाल घुम्न आउनेको सङ्ख्या भने सामान्य घटेको छ । सन् २०२५ मा चार हजार ३२० जना अफ्रिका महादेशका पर्यटक नेपाल भ्रमण आएका छन् । त्यसअघि सन् २०२४ मा चार हजार ४५६ पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्