१६ पुष २०८२, बुधबार

बर्सौंदेखिको रुग्ण ठेक्का तोड्नु बाध्यताः कुलमान

कोलोराडोखबर संवाददाता , December 31st, 2025

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी तीन वटा मन्त्रालय समालिरहनुभएका मन्त्री कुलमान घिसिङले बर्सौंदेखिको रुग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताउनुभएको छ ।

सडक बोर्ड नेपालको २३ औँ वार्षिकोत्सव समारोहलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले काम गरिएन भने कारबाही हुन्छ भन्ने सन्देश दिन, कम रकम कबोल गरी ठेक्का हात पार्ने प्रवृत्ति निरुत्साहित गर्न, समयमै निर्माण नगरिएका कारण आमनागरिकले पाइरहेको दुुःख अन्त्यका लागि ठेक्का तोड्नु परेको स्पष्ट पार्नुभयो ।

उहाँले नियोजित रूपमा कुनै पनि ठेक्का नतोडिएको र समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गरिएको बताउनुभयो । सडक विभागले एक सय दिनमा सडकसँग सम्बन्धित ४० वटा रुग्ण ठेक्का तोडिसकेको छ । उहाँले विकास बजेट निर्माण व्यवसायीमार्फत खर्च हुने भएकाले देश विकासमा निर्माण व्यवसायीको ठुलो योगदान रहेको उल्लेख गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्