१५ पुष २०८२, मंगलवार

जाँचबुझ आयोगसमक्ष तत्कालीन गृहमन्त्री रमेश लेखकले दिए बयान

कोलोराडोखबर संवाददाता , December 30th, 2025

नेपाल । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष ६ पृष्ठको लिखित बयान पेश गरेका छन् । भदौ २३–२४ गतेको घटनालाई उनले मुलुक र लोकतन्त्रविरुद्धको एक नियोजित षड्यन्त्र र सुनियोजित आक्रमणको संज्ञा दिएका छन् ।

सुशासनका लागि जेनजी समूहले गरेको आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा गरिएकोमा घुसपैठ भएर हिंसा भड्किएको लेखकको भनाइ छ । आन्दोलनकारीका मागहरू जायज भए पनि लोकतन्त्रविरोधी तत्वहरूले आन्दोलनलाई ‘हाइज्याक’ गरेको लेखकले बताएका छन् ।

तत्कालीन गृहमन्त्रीको हैसियतमा आफूले भदौ २२ गते नै केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएर कुनै पनि हालतमा मानवीय क्षति हुन नदिन र संयमता अपनाउन सुरक्षा प्रमुखहरूलाई स्पष्ट निर्देशन दिएको उनको भनाइ छ ।

‘बल प्रयोग गर्ने वा कसैको ज्यान लिने कुनै लिखित वा मौखिक आदेश दिएको छैन, न त कानुनले गृहमन्त्रीलाई त्यस्तो अधिकार नै दिन्छ,’ लेखकले बयानमा भनेका छ्न् ।

२४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जस्ता राज्यका प्रमुख अङ्गहरूमाथि भएका आक्रमणहरू कुनै पनि देशभक्त नेपालीले कल्पना गर्न नसक्ने उनको टिप्पणी छ ।

आन्दोलनमा भएको मानवीय क्षतिको पीडाबोध गर्दै आफूले नैतिक जिम्मेवारीसाथ राजीनामा दिएको उनले प्रष्टोक्ति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्