-सुदीपभद्र खनाल-
आउ हे कविता मेरी पसी अन्तर चित्तमा
पखालेर सफा पार जो छन् कल्मष वृत्तमा
लोभ क्रोध जरा मोह हटाई इन्दुरश्मिले –
व्याप्त ; अनन्त आकाश म बनूँ शुभ्र शान्तिले
तृष्णाका भेलले भग्न व्यथाका ज्वारले जली
बनेको छु वृथा क्लान्त शीत ताप खपी गली
ढाकिएछु घटाले म चिसो स्थूल पहाड भै
चम्काऊ कविता आऊ भोर उद्दिप्त रश्मिभै
च्यातेर दृष्टिको जालो फाली अज्ञानको तह
पिलाऊ ज्ञानगंगाको सुधारस मिठो मह
निकाल मनको मैलो तम अन्ध विकार यो
रश्मिले टल्किएजस्तो शैलझैँ चित्त पार यो
पसेर आँतमा हेर जाँच संसारको छवि
जगाऊ जो सुतेको छ थाकेर भित्र जिन्दगी
भर निर्माणको आगो भोक निष्ठा र त्यागको
फेर संसारको नग्न रूप फेर समाज यो
ए मेरी कविता आऊ गाऊ प्रेम सुकर्मका
गीत सगर्व मान्छेका कानमा न्यायका ऋचा
करुणा भावले हेर सृष्टि यो वुद्ददृष्टिले
पार यो धरती स्वर्ग कविता ज्ञान वृष्टिले
-अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्