नेपाल । चालु आर्थिक वर्ष २०८२–८३ को पाँच महिनामा मुलुकबाट हुने निर्यात ५८.१७ प्रतिशतले बढेर सवा खर्ब नाघेको छ ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाँच महिनामा निर्यात बढेर एक खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा निर्यात ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपियाँको निर्यात भएको थियो ।
विभाग अनुसार पाँच महिनामा नेपालबाट सबैभन्दा धेरै ४६ अर्ब ५५ करोड रुपियाँ बराबर भटमासको तेल निर्यात भएको छ, तर सोही अवधिमा नेपालले ४६ खर्ब ९७ अर्ब रुपियाँ बराबरको कच्चा भटमास आयात गरेको छ ।
यस्तै समीक्षा अवधिमा पाँच अर्ब ५३ करोड रुपियाँको अलैँची निर्यात भएको छ । चार अर्ब १३ करोड कार्पेट, तीन अर्ब ७३ करोड सूर्यमुखी तेल र दुई अर्ब ७३ करोड रुपियाँ बराबरको जुट निर्यात भएको तथ्याङ्कले देखाएको छ ।
यस्तै पाँच महिनामा आयात १५.८३ प्रतिशतले बढेर सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा छ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपियाँको भएको थियो । गत आवको पाँच महिनाको तुलनामा चालु आवको पाँच महिनामा आयातनिर्यात दुवैमा सुधार आएको तथ्याङ्कले देखाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्