२८ मंसिर २०८२, आईतवार

कविताः मनको महङ्गी

कोलोराडोखबर संवाददाता , December 13th, 2025

-लालगोपाल सुवेदी-
फूललाई हेर , फूलका रङहरूलाई हेर
कसैका पनि नजर त्यहाँ गएनन्
फूलले मन पराएका रङहरू रहेनन्
किरणहरूको छमछम
मुक्त पवनको लय
बेरिएर आकाशको पछ्यौरीमा
रङहरू कहाँ गए गए !
बढ्दै थियो हरेक साँझ
हुर्किंदै गरेकी बालिका जसरी चन्द्रमा
दुब्लाउँदै गइन् ती चाँदनी पनि
अस्ताचलबाट मितिनी मितिनी भन्दै
कालिमा आइन् आँगनीमा
बोलाएर मौन सन्नाटा
समयको पाक्षिक फेरो समाएर
पूर्णेन्दु अलप भइन्
साक्षी मात्र हुँ म एउटा
नङ र मासुका साथहरू गए
मीठा मीठा बातहरू गए
पीडानन्द र संघातहरू गए
बैंस लाग्दा
मुसारेको जुङ्गा ओठबाट
सुम्सुम्याएको दाह्री गालाबाट
बिदा गरें मैले
बास माग्न आएका पाहुनाहरूलाई झैं
जब फर्कन्छु पूर्व स्मृतिमा
म कति उच्छवासमा थिएँ
काखबाट सनै सनै पिङमा मच्चिएँ म
गीतभन्दा कर्णमधुर मेरै तोते बोली थियो
कि त काखबाट
कि त कोक्रोबाट
ओर्लेको संझन्छु पिँढीमा, आँगनीमा
वल्लो कुनाबाट पल्लो कुना
पल्लो कुनाबाट वल्लो कुना
ताते ताते गरेको संझन्छु
कहाँ गए थोते दाँत ?
कता गयो तोते हाँसो ?
प्रियहरू मध्ये एउटा थिएँ म
सबै भन्छन् आज पनि
शिशुहरू भनेका देउता हुन्
के देउता थिएँ म ?
सायद म पनि देउता थिएँ
बुझ्दै गएँ, बुझ्दै गएँ तर बुझिन म के भएँ ?
ए ! म त मान्छे पो भएँ मेरो नजरमा
डुबें कि / डुबाइएँ कि क्या हो जहरमा
फूलको लहरमा सखी र मोहनी
काँढाहरूको सहरमा वैरी पनि
ए फूल !
कहाँ छौ आज तिमी ?
मन्दिरमा छौ कि आर्यघाटमा
मन्त्री /महामहिमको गाथमा छौ कि
पीताम्बर ओढाइएको लासमा?
कहाँ गए तिम्रो वदनमा चुम्बन गर्ने पुतलीहरू
कहाँ पुगे भुनभुन गर्ने भमरा र माहुरीहरू
अव त विदा लिनेछन् तिम्रा सुवासहरूले पनि
फूल भएकोले बिक्रीमा छौ तिमी
मान्छे भएकैले फिक्रीमा छु म
आज मनसँग मन छैन
आज जीवनसँग जीवन छैन
उहिले उहिले बाबुविना छोरा नाति टुहुरा गनिन्थे
आज छोरा नातिको साथ भएन भने
बाजे बज्यै नै टुहुरा ठहरिन्छन्
तिम्रो पनि मेरो पनि
जीवन भन्नु बैंसमा मात्रै खास छ
जीवन भन्नु पैसामा खास छ
आजको मानवता सास फेर्छ पैसामा
रहरै रहरमा पाइला टेकेपछि सहरमा
म महङ्गिंदै गएको छु, थाहा मूल्यवत्ता होइन यो
मन महङ्गो भएको छ ।

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्