२२ मंसिर २०८२, सोमबार

कथाकार लक्ष्मण अधिकारीको ‘मर्फिन’ कथासङ्ग्रहमाथि चर्चा

कोलोराडोखबर संवाददाता , December 8th, 2025

नेपाल । नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा राजधानीमा आयोजित कविगोष्ठीमा कथाकार लक्ष्मण अधिकारीको ‘मर्फिन’ कथासङ्ग्रहमाथि चर्चा गरिएको छ ।

समालोचक डा. लेखराज खतिवडाले कथा ‘मर्फिन’ ले नेपाली चिकित्सा क्षेत्रको समग्र पक्षलाई उधिन्न सफल भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा १९ कविले कविता, लघुकथा, गजल वाचन गर्नुभएको थियो । कवि डम्बर पहाडीको एलाक (एक लाइने कविता) लाई उपस्थित श्रोताले खुवै रुचाएका थिए । वाचन गरिएको कवितामाथि प्राध्यापक जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ ले समीक्षा गर्नुभएको थियो । उहाँले गोष्ठीमा प्रस्तुत कविताले समसामयिकतालाई बढी प्राथमिकता दिएको चर्चा गर्दै कविले अन्यका रचना बढीभन्दा बढी पढ्नुपर्ने, लेखनलाई निरन्तरता दिँदै आफ्नो लेखनलाई परिष्कृत गर्दै जानुपर्ने बताउनुभयो ।

रचना वाचन कार्यक्रममा कवि पूर्णविरामका दुई कविता अन्य कविले वाचन गर्नुभएको थियो । कार्यक्रममा ‘मर्फिन’ का कथाकार लक्ष्मण अधिकारीले पत्रकारिताका क्रममा प्राप्त सूचना सामग्रीलाई कथात्मक बनाउने क्रममा नै कथा लेखन थालिएको र सोही क्रममा ‘मर्फिन’ कथासङ्ग्रह प्रकाशन भएको बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’, डा। लेखराज खतिवडा, लक्ष्मण अधिकारी र डम्बर पहाडीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्