-लालगोपाल सुबेदी-
कविता भन्छ मलाई- कविता पढिस् ?
कविताले भन्नुभयो – मलाई पढ्नुभयो ?
कविता भन्छिन् – मलाई पढ्यौ ?
के उत्तर दिने मैले ?
यहाँ असरल्ल कविताहरू छन्
कविताहरू युगौंदेखि देखिएका देखिएकै छन्
कविताहरू युगौंदेखि लेखिएका लेखिएकै छन्
कवितासँग छन् कविताकै मौन-संवाद
कवितासँगै छन् कविताका प्रीतिराग र प्रतिवाद
कविताकी सौता कविता पनि छिन्
कुनै कविता सासूजस्ती
कुनै कविता बुहारीजस्ती
कविता र कविताको बिहे पनि देखिएकै छ
कवितालाई कविताबाट
पारपाचुके पनि भेटिएकै छ
कुनै कविता लक्ष्मीका पछिपछि हिँड्छन्
कुनै कविता सरस्वती सन्निकट छन्
देखिरहेछु म
कवितालाई कविताको सम्मान
र कवितालाई कवितैको मानमर्दन
ए गाली नगर भन्छु-
उनीहरू झन् चिच्याई चिच्याई गाली गर्छन्
बुहारी पनि त छोरी हुन्
सासू पनि त आमा हुन्
जागोस् भन्छु तिनीहरू बीच मीठो सम्मोहन
सधैं भइरहोस् भन्छु
लक्ष्मी र सरस्वतीको मिलन
तर कहाँ कहाँ बिग्रिदिन्छ सन्तुलन
देख्न सक्दिन म भत्किएको मन
जब आमाहरू छोड्दैनन् पुरातन
सासू सासू नै र बुहारी बुहारी नै रहन्छन्
जब बुहारीहरू सम्बन्धहरूबाट भाग्छन्
पहिरो जान्छ अपनत्वमा
छँदाखाँदाको जीवनको हरियाली पनि
सुख्खा सुख्खा बगरजस्तै लाग्छन्
छाडा गाली राजनीतिज्ञहरूले नै गरून् वा गरिरहून्
कविता र कविताहरू सौता नहून्
हेर्यौं भने चिहाएर विश्व
भेटिन्छन् अक्षरहरूका छलाङ
गर्न पर्दैन कविताले कविताको देवत्वकरण
आदर पनि प्यार पनि
समान वा बराबरी अंशियारहरू हुन्
चराको मधुर गीतिमय गुन्जनजस्तो
ताराको अनुपम किरनजस्तो
मन्त्रजस्तो र आशीर्वचनजस्तो
युगयुग जीवित रहोस् संबोधन र सम्बन्धन
कविताबाटै त जन्मने हो असल कविता
युग युगकै तिर्खा हो प्रणयन
म गर्छु कविताको अभिनन्दन
मन सफा भयो भने
सुखी हुन्छ, सम्वृद्ध हुन्छ हाम्रो जीवन ।
-अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्