१९ मंसिर २०८२, शुक्रबार

बाह्रखरी कथा प्रतियोगितामा ११६८ को सहभागिता, उत्कृष्ट ५९ कथा चयन

कोलोराडोखबर संवाददाता , December 5th, 2025

काठमाडौं । सातौँ संस्करणको ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता, २०८२’ मा देशविदेशबाट एक हजार १६८ कथाकारले सहभागिता जनाएका छन् ।

अघिल्ला वर्षहरूमा झैँ यसपालि पनि नयाँ युवासँगै अग्रज तथा स्थापित कथाकारका कथा बाह्रखरी मिडियालाई प्राप्त भएको छ । गएको असोज ३१ गते बाह्रखरीले नेपाली भाषामा लेख्ने विश्वभरका कथाकारबाट कथा आह्वान गरेको थियो ।

कात्तिक ३० गते मध्यरातसम्मको समयसीमा तोकिएको अवधिमा नेपालसहित भारतको दिल्ली, असम, दार्जिलिङ तथा चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्ड, साइप्रस, इन्डोनेसियालगायत मुलुकमा बसोबास गरिरहेका नेपाली कथाकारले कथा पठाएका छन् ।

प्रतियोगितामा प्राप्त एक हजार १६८ मध्ये सर्तअनुरूपको मापदण्डभित्र रहेका कथाबाट आन्तरिक निर्णायक समूहका संयोजक गोविन्द अधिकारीसहित चारजनाको टोलीले उत्कृष्ट ५९ कथा चयन गरेको छ ।

चयन कथाका कथाकारमा चेतनाथ आचार्य, देवेन्द्र चिनार, डा। श्रीधर खनाल, दुर्गा ढेंगा, इलैया पाठक, उमेश श्रेष्ठ, राजेन्द्र अधिकारी, शेखर दहित, शिवराज शाही, विप्लवमान सिंह, कृष्णराज सर्वहारी, ज्वाला ढकाल, रितेश गुरुङ, अनिता खरेल, विपीन आदिमा, विष्णुप्रसाद सुवेदी, देवेन्द्रप्रताप शाह, डा। विनोद ढकाल, डा। देवेन सापकोटा, प्रज्ञा निरौला, राजकुमार श्रेष्ठ, सीता पाण्डे, भागवत खनाल, केशव भट्टराई, भोगेन्द्र लिङ्देन छन् ।

यस्तै, हरिबोल काफ्ले, वसन्तबायुङ राई, कुमार काफ्ले, लक्ष्मण सिटौला, प्रतीक्षा कट्टेल, नारदप्रसाद थपलिया, इन्द्रप्रसाद गोतामे, जमुना भट्टराई, सायुज्यराज घिमिरे, अप्सना चौलागाईं, अनिता पन्थी, अविनाथ भट्टराई, ललित विष्ट, एलिसा ढुङ्गाना, समीक्षा थापा, तुल्सी गिरी, तारानाथ पराजुली, मन्दिरा मधुश्री, अमित घिमिरे छन् ।

जेएन दाहाल, टीकाराम पोखरेल, उमा शर्मा, अनिता कोइराला, विष्णु एस राई, दामोदर ढुङ्गेल, प्रकाशकुमार शर्मा, वीरेन्द्र ढकाल, अमरकुमार प्रधान, अमृता पाठक चौलागाईं, देवा अधिकारी, सान्वीन्द्र प्रधान ‘मणि’, अर्जुन नेपाल, डा. हिमलाल श्रेष्ठ र दीपेश राईका कथा ‘उत्कृष्ट ५९’ मा परेका छन् ।

पहिलो चरणको छनोटमा परेका ५९ कथामध्येबाट साहित्यकार अशेष मल्लको संयोजकत्वमा साहित्यकारद्वय मञ्जु काँचुली र अभय श्रेष्ठ सम्मिलित मूल निर्णायक समूहले ‘उत्कृष्ट २५’ कथा छनोट गर्नेछ ।

प्रतियोगितामा सामान्यतः प्रथम चरणमा ५० कथा छानिने गरिन्थ्यो । यस वर्ष प्राथमिक छनोटमा समान अंक पाएका कथाहरूको संख्या अधिक भएकाले अन्तिम चरणमा ५९ कथा समावेश गरिएको आन्तरिक निर्णायक समूहले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने कथाकारले यस वर्षदेखि नगद राशि दुई लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय र तृतीय हुने कथाकारले क्रमशः एक लाख र ६० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । ‘उत्कृष्ट २५ कथा’भित्र पर्ने अरू २२ कथाकारले सात हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको टाइटल स्पोन्सर डिशहोम डिश मिडिया नेटवर्क रहेकोे छ । उत्कृष्ट कथा, २०८२ को प्रकाशन पार्टनर फाइनप्रिन्ट छ ।

प्रतियोगिताका अरू सहयोगी संस्थामा एनआईएमबी बैंक, युनाइटेड अजोड इन्स्योरेन्स लि।, गोल्याण समूह, वेदालय कन्स्ट्रक्सन, यती एयरलाइन्स, हिमालय एयरलाइन्स र एआईटीएम कलेज छन् ।

बाह्रखरी कथा प्रतियोगिताका आन्तरिक मूल्यांकन समितिका संयोजक अधिकारीले सहभागी सम्पूर्ण कथाकार, टाइटल स्पोन्सरसहित सबै स्पोन्सरमा हार्दिक आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्