१८ मंसिर २०८२, बिहीबार

लेखक नैनसिंह महरको शब्द रहेको गीत ‘बन्छ बन्छ मेरो देश बन्छ…’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , December 4th, 2025

नेपाल । लेखक नैनसिंह महरको शब्द रहेको गीत ‘बन्छ बन्छ मेरो देश बन्छ…’ बुधबार सार्वजनिक भएको छ ।

प्रमोद खरेलको स्वर, हरि लम्सालको सङ्गीत रहेको देशभक्ति गीतको भिडियोमा राजेश हमाल, महावीर पुन, प्रदीपकुमार राई (व्याकुल माइला), समाजसेवी अनुराधा कोइराला, ओलम्पियन खेलाडी दीपक विष्ट, नैनसिंह महर, मिस पवी, अस्तिना महर, अनिमेश महर, सविना तामाङलगायतले अभिनय गर्नुभएको छ । दशरथ सुनारको निर्देशनमा तयार भिडियोमा देश कसरी बन्न सक्छ भन्ने सपना र आशा बाँडिएको छ ।

गीतकार महरले कांग्रेस–एमालेको सरकार बनेकै बेलामा गीत सिर्जना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनतामा छाएको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्ने गरी कांग्रेस–एमालेको सरकार बनेको थियो । त्यो सरकारले के ग¥यो भने जनतामा आशाको सञ्चार हुन्छ ? भन्ने ट्र्याकमा लेखेको थिएँ ।” महरले पहिलो पटक गीत लेख्नुभएको हो । उहाँले भन्नुभयो, “समाजमा निराशा बढिरहेको परिस्थितिमा गीतमार्फत सपना बाँड्ने र आशा जगाउने कोसिस गरेको छु ।” गायक प्रमोद खरेलले राजनीति र साहित्य फरक विधा रहे पनि नैनसिंहले रोजेको बाटो सुखद रहेको बताउनुभयो । सार्वजनिक गीतले समाजलाई आशाको सञ्चार गर्न सक्ने बताउनुभयो ।

पत्रकार पुरुषोत्तम दाहालले कला, साहित्य र संस्कृति देशकै पहिचान भएकाले त्यसबिना देश नबच्ने बताउनुभयो । गीतकार डा. भोला रिजालले राजनीतिमा प्रभाव समाउँदै आएको नैनसिंहलाई लेखनमा देशभक्ति गीत ‘मेरो देश बन्छ’ ले परिचय थप्ने बताउनुभयो । “नैनको गीत हेरेर आफ्ना पुराना गीतको सम्झना आयो । देश बन्छ बन्छ भन्नेमा म पनि विश्वस्त छु,” रिजालले भन्नुभयो ।

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाले लेखकले समाज र राष्ट्रलाई सकारात्मक दिशामा लैजाने भावका सृजना सार्वजनिक गर्न सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री भक्तबहादुर बलायर, ओलम्पियन खेलाडी दीपक विष्ट, देउडा गायक नन्दकृष्ण जोशी, कांग्रेस नेता रामहरि खतिवडा, उर्मिला थपलियालगायतका वक्ताले गीतको सफलताको शुभकामना दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्