नेपाल । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हराएको छ। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरको समाप्तिमा १६७ रन बनाउँदा अलआउट भएको हो।
कर्णालीका लागि मार्क वाटले अर्धशतक बनाउनुभयो। ३४ बलको सामना गर्दा पाँच छक्का र चार चौका प्रहार गर्नुहुँदै ५९ रन बनाउनुभयो। नजिबुल्लाह जद्रान २४, पवन सरार्फ १९, प्रियाङ्क पञ्चाल १६, कप्तान सोमपाल कामी १३ र गुल्सन झा १० रनमा आउट हुनुभयो। अन्य कुनै पनि ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
कर्णालीलाई सस्तैमा समेट्न पोखराका लागि धनन्जय लक्षन र ऋषि धवनले तीनतीन विकेट हात पार्दा किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले एकएक विकेट हात पार्नुभयो।
टस जितेर कर्णालीले सुरुमा फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा २०१ रन बनाएको थियो। उसका लागि एडम म्याथ्यू रोसिङ्टनले शतक प्रहार गर्नुभयो। रोसिङ्टनले नटआउट ५८ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै १०८ रन बनाउनुभएको हो।
पोखराका लागि जेसन रोयले ४६ रन जोड्दा धनन्जय लक्षनले नटआउट २३ रन थप्नुभयो। ओपनिङमा आउनुभएका पोखराका कप्तान कुशल भुर्तेल १७ बलको सामना गर्दा १८ रन बनाउँदै आउट हुनभएको थियो।
कर्णालीका लागि नन्दन यादव र मार्क वाटले एकएक विकेट हात पर्नुभयो।
यो जितसँगै पोखराले पाँच खेलमा चार अंक जोडेको छ। पोखरा प्लेअफको सम्भावना जीवित राख्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
६ खेल खेलिसकेको कर्णाली भने दुई अंकमा सीमित छ। यो हारसँगै कर्णाली तालिकाको सातौं स्थानमा झरेको छ । उसको प्लेअफ पुग्ने सम्भावना पनि समाप्त भएको छ ।
यता, साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
यसअघि खराब नतिजा सामना गरिरहेको जनकपुरले पाँचौँ खेलमा आएर पहिलो जित निकालेको हो । जितसँगै दुई अङ्क बनाएको जनकपुरले प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राखेको छ । यस्तै समान खेलबाट चितवनको चार अङ्क छ ।
एनपिएलमा बुधबार विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्दैछन् । यो खेल बुधबार अपरान्न ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्