११ मंसिर २०८२, बिहीबार

एनआरएनए कोलोराडो च्याप्टरको पद हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोखबर संवाददाता , November 27th, 2025

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको पद हस्तान्तरण कार्यक्रम गत शनिबार नोभेम्बर २२ मा एक औपचारिक समारोहका साथ सम्पन्न भएको छ । कार्यक्रममा एनआरएनए कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष तथा NRNA NCC USA का युवा उपाध्यक्ष प्रकाश पौडेलको सभापतित्व रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि NCC USA का अध्यक्ष विकास उप्रेती उपस्थित थिए । विशेष अतिथिमा एनआरएनए ICC सदस्य रविन वज्राचार्य, NCC USA का उपाध्यक्ष कुमार लामा, वाग्मती प्रदेशका पूर्वमन्त्री मधुकुमार श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ संगीतकार शम्भुजित वास्कोटा, नायक कृष्ण मल्ल सहित स्थानीय पत्रकार, संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

नेपाल तथा विदेशका विभिन्न देश र अमेरिकाका थुप्रै शहरबाट आएका कलाकारहरू एनआरएन अभियन्ताहरु सहित कोलोराडोवासी नेपाली समुदायको उत्साहपूर्ण उपस्थिति रहेको आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य NCC USA का महासचिव रामचन्द्र पन्त (आरसी) ले राखेका थिए भने सञ्चालन NCC USA की सचिव संगीता लामाले गरेकी थिइन् ।

एनआरएनए कोलोराडो च्याप्टरको २०२५–२०२७ कार्यकालका लागि संयुक्त रूपमा निर्वाचित अध्यक्षद्वय निमा शेर्पा र चन्द्र गुरुङले पद ग्रहण गरेका हुन् । निर्वाचनपश्चात दुवै अध्यक्षले एउटै संयुक्त समिति गठन गरी एकताको सन्देशसहित कोलोराडो च्याप्टरका सबै कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।

उक्त ऐतिहासिक पद हस्तान्तरण समारोहमा एकताको भावना झनै प्रस्ट पार्दै दुवै अध्यक्षले NCC USA का अध्यक्ष विकास उप्रेती र सतेन्द्र शाहसहित दुवै पक्षका सम्पूर्ण केन्द्रीय पदाधिकारीहरूलाई विशेष निमन्त्रणासहित संयुक्त रूपमा आमन्त्रित गरेका थिए । कार्यक्रममा अध्यक्ष उप्रेतीसहित केन्द्रीय पदाधिकारीहरूको प्रतिनिधिमूलक उपस्थिति देखिन्थ्यो ।

कार्यक्रममा उपस्थित कलाकार, सामाजिक अभियन्ता तथा एनआरएन प्रतिनिधिहरूले कोलोराडो च्याप्टरमा देखिएको सहकार्य, समन्वय र एकतालाई उच्च सराहना गर्दै यसलाई एनआरएन अमेरिकाभित्र एकता पुनर्स्थापनातर्फको महत्वपूर्ण कदमका रूपमा चित्रण गरे ।

त्यसक्रममा NCC USA का अध्यक्ष विकास उप्रेती र महासचिव रामचन्द्र पन्तले संगठनमा एकता कायम राख्न आवश्यक परे “आफ्नो पद त्याग्न पनि पछि नहटिने” स्पष्ट प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमपछि NCC USA अध्यक्ष विकास उप्रेती, च्याप्टर अध्यक्षद्वय निमा शेर्पा र चन्द्र गुरुङले ICC सदस्य रविन वज्राचार्यमार्फत संयुक्त समन्वयात्मक पहल अघि बढाएका थिए । वज्राचार्यको माध्यमबाट गरिएको भिडियोकलमा ICC अध्यक्ष बद्री केसी, महेश श्रेष्ठ तथा आर.के. शर्मासँग अलग अलग संवाद गरिएको थियो ।

उक्त छलफलमा अध्यक्ष उप्रेतीले कोलोराडोमा भएको एकता जस्तै, NCC हरू पनि मिल्नुपर्छ र ICC भित्र पनि अनिवार्य एकता आवश्यक छ भनी सबै पक्षसँग आग्रह गरेको स्रोतले जनाएको छ ।

यस वर्षको कोलोराडो च्याप्टर हस्तान्तरण कार्यक्रम केवल नेतृत्व हस्तान्तरण मात्र नभई एनआरएन अमेरिकाभित्र एकताको नयाँ प्रारम्भको रूपमा चिनिएको छ । संयुक्त नेतृत्व, केन्द्रीय संरचनाको सहभागिता, कलाकारहरूको उपस्थिति र उच्चस्तरीय समन्वयले कार्यक्रमलाई ऐतिहासिक महत्त्व दिएको छ ।

एनआरएनए कोलोराडो च्याप्टरले दियो एकताको सन्देश

प्रतिक्रिया दिनुहोस्