-लालगोपाल सुवेदी-
बाँसुरीको राज हो
मौन आवाज
बाँसुरीमा करुण रस हुन्छ
मेरो मौन पुकार
बाँस निर्जीव नरहोस् !
ढुङ्गो निर्जीव नरहोस् !
बाँसलाई करुण रसले छोएपछि
बाँसुरी हुन्छ
ढुङ्गोलाई छिनोले फोएपछि हाँसेहाँसेजस्तो , रोएरोएजस्तो
अनुहारमा कलाकारले आकार तुन्छ
ढुङ्गालाई शान्त रौद्र, करुण,वा शृङ्गार रसले जब छुन्छ
कि त शिव ताण्डव नाच्छन्
कि त शिवसित पार्वती हुन्छिन्, प्रणय हुन्छ
म हुँ बाँसलाई बाँसुरी बनाउने आवाज
म हुँ ढुङ्गालाई मूर्ति बनाउने कलावाज
के मूर्तिले बाँसुरी सुन्छ ? हो ,सुन्छ
तिमी पशु वा पशुपतिसँगै पशुपतिनाथ सामु जाऊ
के हो अ ? के हो उ ? के हो म् ?
बुझ लाटा बुझ
मूर्त हुन्छ परा अहम् ,आभामण्डल फराकिन्छ
चाँदीका चार ढोकाहरूजस्तै
उघार बुद्धिको बिर्को
त्यहाँ किन ‘यात्री ‘ कविता बुनिन्छ ?
त्यहाँ किन करुणा गुन्जिन्छ ?
कान हुँदैन सर्पको
तर शिवले सर्पको माला लगाएको देखिन्छ
तिनै शिवलाई नीलकण्ठ किन भनिन्छ ?
थाहा छ लाटा ?
सर्पको मालाको कत्रो अर्थ हुन्छ ?
नटराज किन नाच्छन् ताण्डव ?
किन जटाबाट गङ्गा बहन्छ ?
मौन आवाजमै छ ‘रोमियो जुलियट ‘
मौन आवाजमै छ ‘ लुसी ग्रे ‘
मौन आवाज नै हो ‘मोनालिसा’
कविताभन्दा बाठो अरु के छ ?
कलाभन्दा बाचाल अन्य के हुन्छ ?
यो चित्कार होइन लाटा
कि त मन्त्र हो कि त मुन्धुम हो
शंखघण्टहरूको जस्तै अनुगुन्जन हो
मन्त्र कहाँ सुनिन्छ लाटा मन्त्र कहाँ सुनिन्छ ?
एउटा मान्छे मात्र संझेर लेखिन्न कविता
मूर्त्याइन्न कला , ख्वाङख्वाङ खोक्नका लागि होइन गला
अरबौं मान्छेहरू छन्
अरबौँ वनस्पति र कीटपतङ्गहरू छन्
सप्तरङ्ग मात्र होइन
तिनका हजारौं रङ्गहरू छन्
यति फराकिलो छ कि आकाश
अनगन्ती ताराहरू अटाउँछन्
यो धर्ती एउटैका लागि हुन सक्दैन
धर्ती हो कविता, प्रीति हो कला
कृतिमा, प्रीतिमा विचार साधुरिन हुन्न
समुद्र मौन देखिन्छ , मन्त्रहरू मौन सुनिन्छन्
आफैलाई मन्दिर बनाएर आफैलाई हेर्न सिक
मौनताभित्र कति ठूलो शक्ति लुकेको छ ?
–अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्