३ मंसिर २०८२, बुधबार

दिवङ्गत पितृको सद्गतको कामना गर्दै बालाचतुर्दशी मनाइयो

कोलोराडोखबर संवाददाता , November 19th, 2025

नेपाल । दिवङ्गत पितृको सद्गतको कामना गर्दै मनाइने बालाचतुर्दशी बुधबार शतबीज छरेर मनाइएको छ ।

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा बिहानदेखि भिड लाग्ने गर्छ । अघिल्लो दिन भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्ने गरिन्छ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन भने बिहान दिवङ्गत पितृको सद्गतको कामना गर्दै शतबीज छरिन्छ । शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) मिसाएर छर्ने गर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतको कामना गर्दै शतबीज छर्छन् ।

प्राध्यापक तथा ज्योतिष सन्त वज्राचार्यका अनुसार भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास छ । शतबीज छर्दै मृगस्थलीमा रहेको बहिरा गणेशनजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठुलो स्वरले दिवंगत आत्माले सुन्ने गरी सन्देश पुर्याइदिन अनुरोध गर्ने चलन रहेको पनि बताउनुभयो ।

बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गरेको थाहा पाएपछि शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्रेर हरियो भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको मङ्गलबार बिहानैदेखि पशुपति क्षेत्रमा भिड लागेको थियो । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भिड लाग्ने गर्छ । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताएको थियो ।

प्रतिक्रिया दिनुहोस्