२९ कार्तिक २०८२, शनिबार

लघुकथा: कोभन्दा कोकम

कोलोराडोखबर संवाददाता , November 15th, 2025

-आरसी रिजाल-
बुढाहरु जम्मा भएपछि तालतालका गफ गर्छ्न्। बारिको पाटोमा तिनजना बुढा गफिदैथे। लुकेर चुरोट तान्न पल्केका गौतम बुढा तल्लो पाटोबाट मास्तिर आउँदैथे। मैले — कान्लो अग्लो छ ।उता छेउबाट घुमेर आउनुस् भने। किन टेढ्थे बुढा ? असारको चिप्लो कान्लाबाट बारिको पाटोमा उत्तानोटाङ लाए।

माख्लो कान्लोबाट ८४ कटेको घिमिरे बाजेले — ए गौतमजी ! ल मेरो हात समातेर माथी आउनुस् भने। गौतमले हात त दिए। उल्टै घिमिरे गौतमको बुइ चढ्न पुगे।दुइटै हिलाम्मे भए।

चालिसेले हाँसो रोक्न सकेनन्। हे बुढा हो! लौ दुबैजनाले मेरो हात समात भने। समात्न त समाते चालिसे पनि तलै ढुन्मुनिए। त्यसपछि दुईजनाले काँधको बलले गौतमलाई ठेले र माख्लो पाटोमा चढाए । एसो हेरेँ — तिनैजना असारको बाउसे जस्ता हिलाम्मे थिए। चालिसेलाई तलबाट घिमिरेले ठेले माथिबाट गौतमले ताने। अब घिमिरे बुढा तल एक्लै परे।उनलाई तान्दा दुबैजना फेरि मुन्टिने त्रासले हात अगाडि बढाएनन्।

बुढाहरुको रमिता हेर्न आएको पोखरेल थरको युवाले — लादी कटाएर मुस्किलले ३५ किलोको घिमिरे बाजेको हात समातेर फुत्तै माथी ताने। यस्तो दुर्दशामा पनि कोभन्दा कोकम ठान्ने बुढाहरु एकले अर्कालाई कमजोरो देखाएर होच्याउदै थिए।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्