२९ कार्तिक २०८२, शनिबार

विद्युत् लाइन काटिएका सबै उद्योगमा विद्युत् आपूर्ति सुचारु

कोलोराडोखबर संवाददाता , November 13th, 2025

नेपाल । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका कारण विद्युत् लाइन काटिएका सबै उद्योगमा विद्युत् आपूर्ति सुचारु भएको छ ।

प्राधिकरणले निर्धारण गरेको कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता भुक्तान गरेपछि उद्योगमा विद्युत् आपूर्ति नियमित गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

पछिल्लो पटक बक्यौता विवादका कारण २५ उद्योगको लाइन काटिएको थियो । तीमध्ये तीन उद्योगले नियमित महसुलसमेत नतिरेका कारण केही पहिले नै लाइन काटिएको थियो । डेडिकेटेड र ट्रङ्क लाइन महसुल बक्यौताका कारण मात्र अब कुनै पनि विद्युतको लाइन काटिएको अवस्था नरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार काटिएका तीनमध्ये दुई उद्योग एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगको नियमित महसुल नै भुक्तानी गरेका छैनन् भने उद्योग पनि पहिले नै बन्द थिए । त्यस्तै निगमले सिमेन्टले आफ्नो ट्रान्सफर्मर मर्मत नगरी उद्योग नै बन्द गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले हालका लागि प्रिमियम बक्यौताका कारण मात्रै कुनै उद्योगको लाइन काटिएको अवस्था नरहेको बताउनुभयो ।

प्राधिकरणले गत असोज १२ गते पूर्वसूचना गरेरै २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ कार्यदिनको समय दिएको थियो । सो सूचना अनुसार १३ औद्योगिक ग्राहकले बक्यौता तिरेका थिए भने नतिरेका २५ उद्योगको लाइन काटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्