नेपाल । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १२० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको आयोजनमा मङ्गलबार एन्फा पदाधिकारी, ‘ए’ डिभिजन क्लब प्रतिनिधि र फुटबल खेलाडी सङ्घबिच भएको बैठकपछि सहिद स्मारक लिग यसै वर्ष सुरु गर्न तयारी गर्ने सहमति भएको हो । जस अनुसार यसै वर्ष चैतमा ‘ए’ डिभिजन लिग हुने छ ।
सो छलफलमा एन्फा अध्यक्ष नेम्वाङ र महासचिव किरण राई, तीन विभागीय टोली, एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र मछिन्द्रका अध्यक्ष अनिल श्रेष्ठ, नेपाल फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामासहितको टोली सहभागी थियो ।
मन्त्री बब्लु गुप्ताले एन्फा, खेलाडी र क्लबका प्रतिनिधिको कुरा सुनेपछि ‘ए’ डिभिजन लिग गर्नका लागि मिति प्रस्ताव गर्न एन्फालाई आग्रह गर्नुभएको हो ।
त्यसपछि एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङले १२० दिनको समयमा ‘ए’ डिभिजन लिग गराउन सकिने बताउनुभएको थियो । एन्फाका महासचिव राईले क्लब खेल्न चाहन्छ भने राष्ट्रिय लिग होल्ड गरेर भए पनि ‘ए’ डिभिजन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्