नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानलाई सही मार्गमा ल्याउने एकमात्र बाटो निर्वाचन भएको र यसमा कुनै द्विविधा नरहेको बताएका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि पार्टीभित्र हस्ताक्षर भइरहेको अवस्थामा महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा गरेका हुन् ।
उनले संसद पुनर्स्थापना भन्दा ताजा जनादेश नै उपयुक्त बाटो भएको आशय व्यक्त गरेका हुन् ।
थापाको स्टाटसः
फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन। नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन। यस सन्दर्भमा हामी स्पष्ट छौँ।
निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो। अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन। नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्