–सुदीपभद्र खनाल–
म चरा हुँ
उषाको गीत गाउने
मौरी हुँ
गोरूको काँध र
विश्व बजारको श्रमिक हुँ
पसिनाको नदी बगाउने;
म पहाड हूँ
दु:खहरूको महासागर ओढेर
आँसुले भिजेको चिसो ढुङ्गाको
सिरानी हाल्दै
भुइँमा भोकै निदाउने
म समय हुँ
वर्तमानको कानमा
हुण्डरीको सिटी बजाएर
वर्तमानलाई भूत र
अमूर्त भविष्यलाई
वर्तमानको कठघरामा उभ्याउन सक्ने
न्यायको सिपाही हुँ
नसोध मसँग म को हुँ भनेर
म रूपमा आकाश
रङ्मा लालीगुराँस
चिन्हले सर्वोच्च हिमालय
हतियारले खुकुरी
मनले समुद्र
गतिमा महानदी
जो समयक्रमले सुस्ताएको देखिँदैमा
आफ्नै बिर्ताको पैनी नसम्झ
नसम्झ कुनै रजौटाको दास
म प्रकाशको गतिभन्दा छिटो दौडने
उत्तर आधुनिक चेतना
म नक्षत्र युद्दको यात्री
क्वान्टम फिजिक्स को ज्ञान
अज्ञेय र अज्ञात पनि
देख्न सुन्न बुझ्न र अनुभव गर्न सक्ने
अनन्त ब्रम्ह र
अनियन्तृत गर्डस् पार्टिकल्स् हुँ
नित्से, सेली, वर्ड्स्वर्थ, टैगोर, कामु, सार्ते,
कावावाता, गुर्नाह र देवकोटा पनि मै हुँ
न्यूटन आइनस्टाइन र
स्टिफेन हकिङ्सको चेतना म
युग उचाल्ने बलवान पाखुरा र
भविष्यद्रष्टा स्वयम्भूको आँखा हूँ
भविष्य गर्भको बीज
पानीको आद्रता हुँ
अविच्छिन्न हिमयुगको
चिसो हिँउको असंख्य पत्र हुँ
समयको पदचाप मलाई
नचिनेझैँ नगर्नू !
सावधान! नजिस्क मसँग
म
आदिम कथाहरूमा वर्णित
अकल्पनीय आँधी हुँ
अनन्तसम्म फैलिरहेको
आगोको समूद्र हुँ ।
-अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्