२२ कार्तिक २०८२, शनिबार

लघुकथाः ज्ञान

कोलोराडोखबर संवाददाता , November 8th, 2025

–आरसी रिजाल–
दामोदर रिटाएर भएपछि घरपरिवारले उनलाई फुरुङ्ग पारे।

सुरुवात यसरी गरे — एकदिन उनलाई चिया पकाउन लगाए। घरका परिवारले — आहा ! चिया त यस्तो पो हुनपर्छ भने। एकदिन मासु पकाउन लगाए — आहा भने।अर्कोदिन रोटि।दामोदरेले — खै रोटि त बेल्नै जानिएन गोलो भएन भने। बुहारीहरुले — “आ बुवा किन गोलो चाहियो?खाँदा टुक्रा पारेर खाने हो। जसरी पकाए पनि हजुरको हातै मीठो ” भन्दै तारिफ गरे।

नातिनातिना पनि हजुरबासंग रत्तिएका थिए। बच्चाहरुको झोला बोकेर स्कुल पुर्‍याउन र ल्याउने उनको डिउटीझैँ थियो।दिउँसोको खाजा पनि उनले पकाएको मात्र मिठो हुनलाग्यो।परिवारका सदस्यले बुवाले माझेको भाँडा र धोएको लुगा कस्तो चम्किलो भन्थे।

छिमेकीहरुले आफ्नो घरबुढालाई दामोदरको उधाहरण दिन थाले। एकदिन छिमेकी बुढाहरु चियापसलमा जम्मा भए। सुदर्शन बाजेले कुरा उठाए – ए दामोदर! तिमिले अति गर्न लाग्यौ। भान्साको कामसम्म त ठिकै थियो। नातिनातिनालाई नुहाउने ,तेल लगाउने,हुँदाहुँदा अब त आगन करेसाबारी र घर अगाडिको नालीसमेत सफा गरेको देख्दा हामीलाई त लाजमर्दो पार्यौ। लोग्नेमान्छेले यस्तो काम गर्न हुन्न भने।

दामोदरले– खै तिमीहरुले कुरा बुझ्या ? म लुइँटेलको गोठमा दुधलिन बिहान झण्डै चार किलोमिटर हिँड्छु।बुढेसकालमा सकेसम्म शरीरलाई चलायमान राख्नुपर्छ।त्यसैले मलाई युरिकएसिड, सुगर ,प्रेसर जस्ता रोगको टेन्सनै छैन। तिमीहरु बुढेसकाल लाग्यो भन्दै उपरखुट्टी लगाएर सुत्ने र खाने गर्छौ। आफ्नो घरको कामलाई गुह्यधन्दा मान्दा रोगको फन्दामा पर्लाउ। घरपरिवारले अह्राएर हैन मैले त ज्ञान पलाएर काम गरेको हुँ। मेरो बाथरुम हेर्न आओ ऎना हेर्न पर्दैन। कुरा बुझ्यौ त भन्दै उनी स्कुलतिर लागे।

-“-वास्तवमा दामोदरले ज्ञान बाँडेर गयो। कुरा काट्ने आधारै छैन ” भन्दै सबै उठे।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्