१७ कार्तिक २०८२, सोमबार

अमेरिकाको भर्जिनियामा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न

कोलोराडोखबर संवाददाता , November 3rd, 2025

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक दुई वर्षमा विश्वभरिबाट नेपाली भाषाका विभिन्न विधाका सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्न आयोजना गरेको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह शनिबार भर्जिनिया, अमेरिकामा भव्यताका साथ सम्पन्न भएको छ ।

२१ सय डलरको सर्वोत्कृष्ट पुस्तक पुरस्कारसहित कूल ११ हजार ५ सय डलर नगद पुरस्कार विभिन्न विधाका ११ कृतिका स्रष्टाले प्राप्त गरे । नेपालका ७ र अमेरिकाका ४ जना स्रस्टा पुरस्कृत भए ।

महाकवि देवकोटाको जन्म जयन्तीको अवसरमा सन् २००३ देखि अनेसासले हरेक दुई वर्षमा यो कार्यक्रम आयोजना गर्दछ । हरेक पछिल्ला दुई वर्षमा छापिएका पुस्तक दर्ता गराउने, मूल्याङ्कन गर्ने र पुरस्कार वितरणको समारोह अनेसास बोर्ड अफ ट्रस्टीले आयोजना गर्ने गर्दछ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकामा नेपाली मूलको पहिलो निर्वाचित सांसद डेलिगेट डा. हयारी भण्डारीले डायस्पोरामा रहेका नेपालीहरुले नेपाली भाषा र साहित्यलाई विश्वव्यापीकरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भयो । भण्डारीले थप्नुभयो भाषा र साहित्यले नै प्रवासमा बसेका नेपालीहरुलाई एकताको सूत्रमा आवद्ध गरेको छ यसलाई अझ व्यापक र विस्तृत बनाउन आवश्यक छ ।

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले लक्ष्मीप्रसाद देवकोटाको योगदानलाई भावी पुस्तासम्म पुराउन अहम् भूमिका खेल्न अनुरोध गर्नुभयो ।

अनेसास विओटीका पूर्वअध्यक्ष डा. श्याम कार्कीले भाषा र साहित्यको उत्थानका लागि अनवरत रुपमा काम गर्नेहरु र उनीहरुको योगदानले भाषा र संस्कृति जीवन्त राख्न मद्दत गर्ने बताउनु भयो ।

अनेसास विओटीका उपाध्यक्ष तीर्थराज पाण्डेयले अनेसासको माध्यमबाट प्रवासी भूमिमा भाषा र संस्कृतिको जगेर्ना गर्न निरन्तर लागि रहने प्रतिबद्धता जाहेर गर्नु भयो ।

विओटीका अध्यक्ष पदम विश्वकर्माले अनेसासको माध्यमबाट भाषा र साहित्यको क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरेर मातृभूमि र प्रवासी भूमिलाई एकताको सूत्रमा बाँध्न प्रयत्नशील रहेको बताउनु भयो ।

अनेसास केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले नेपाली भाषा र साहित्यको क्षेत्रमा काम गर्न अनेसासले आगामी दिनमा तथ्याङ्क र दस्तावेजीकरणलाई प्राथमिकतामा राखेको बताउनु भयो ।

कार्यक्रममा गोवर्द्धन पूजा, गीता खत्री, प्रकाश नेपाल, नारायण अधिकारी,राजु सिटौंला, विमला निरौला, सुदीपभद्र खनाल, नेत्रवन्धु पोख्रेललगायतका व्यक्तित्वहरुले आ–आफनो भनाइ राख्नु भएको थियो, कार्यक्रममा ५२ जना कविहरुले आफ्नो कवितासमेत वाचन गर्नु भएको थियो ।

कार्यक्रममा अनेसासले प्रदान गरिने विभिन्न विधाका पुरस्कारहरु अनेसास विओटीका पूर्व अध्यक्ष डा श्याम कार्कीले प्रदान गर्नुभयो । यसरी प्रदान गरिएका पुरस्कारहरु करिब ११ हजार ६ सय डलर भन्दा बढीको रकम वितरण गरिएको थियो । जसमा दुई हजार एक सय डलर राशीको अनेसास सर्वोत्कृष्ठ पुरस्कार रोशन थापाको “सन्त्रासका साठी दिन” नामक उपन्यासले प्राप्त गरेको छ ।

अनेसास नन्दादेवी सर्वोत्कृष्ठ लोक साहित्य पुरस्कार रुकुमका लोक कथाका लेखक शशिराम कार्कीले प्राप्त गर्नुभयो, त्यसैगरी एक हजार डलर राशीका पुरस्कारहरु विभिन्न विधाका पुरस्कारहरु प्रदान गरियो । जसमा डायस्पोरा वाङ्गमय डा तुलसी आचार्यको स्वप्न भूमि, निबन्ध यात्रा पुरस्कार मोमिलाको निबन्ध संग्रह प्रश्नहरु बाँकी छन, साँस्कृतिक अध्ययन विधाको डा दुर्गा बहादुर घर्तीलाई प्रदान गरिएको छ ।

अनेसास राष्ट्रकवि काव्य पुरस्कार कवि जगन्नाथ पौडेलको बग्दा बग्दै र कृसु क्षेत्रीको पसिनाको क्यानभासलाई प्रदान गरिएको थियो । उत्कृष्ठ कथा पुरस्कार कृष्ण कुसुमको कथा संग्रह पार्श्व धुनलाई, उत्कृष्ठ कथा पुरस्कार अखण्ड भण्डारीको वोरा उपन्यासलाई, अनेसास गीत गजल पुरस्कार लक्ष्मण सिटौलाको गीत संग्रह धर्तीका ध्वनिलाई र अनेसास गीत, वाल साहित्य पुरस्कार बाल साहित्य यात्रामा देशकी लेखिका विमला निरौलालाई प्रदान गरिएको थियो ।

यसैवीच, विभिन्न साहित्यकार तथा पत्रकार, लेखकहरुलाई अमेरिकाका राज्य संसदले प्रदान गरेको प्रशंसापत्र मेरिल्याण्ड राज्यका डेलिगेट डा हयारी भण्डारीले प्रदान गर्नु भयो ।

उहाँहरुले नेपाली भाषा र साहित्यको उत्थानको लागि गर्नुभएको प्रयास र योगदानलाई मूल्यांकन गर्दे प्रशंसा पत्र (साईटेशन) प्रदान गरिएको हो ।

यसरी प्रशंसापत्र प्राप्त गर्नुहुनेहरुमा डा विजयराज शर्मा, भीम कार्की, वासु सत्याल, प्रकाश नेपाल, गोविन्द गिरी प्रेरणाभीम रेग्मी, नेजाका पूर्व अध्यक्ष विकासराज न्यौपाने, खेम भट्टचन, दिपा पुन राई, अनु शाह र रामप्रसाद खनाल रहेका छन् ।

पुरस्कार वितरणपछि शनिबारनै महाकविको ११७ औं जन्मजयन्तीको अवसरमा कवि गोष्ठी सम्पन्न भयो । भर्जिनिया निवासी ५ जना बाल तथा किशोरकिशोरी कविसहित गोष्ठीमा ५४ जना पुरुष तथा नारी कविले कविता पाठ गरे ।

समारोहमा महाकवि देवकोटा र उनका कृतिबारे लेखिएको अङ्ग्रेजी कृति ‘Laxmi Prasad Devkota, The Gem of Nepali Literature’ र प्रा. डा. गोपी उप्रेतीरचित अङ्ग्रेजी काव्य ‘From Ruin to Renewal’ प्रमुख अतिथि बिओटीका पूर्व प्रमुख सल्लाहकार डा श्याम कार्कीले सार्वजनिक गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्