१५ कार्तिक २०८२, शनिबार

कविता: अर्थान्तरण समय

कोलोराडोखबर संवाददाता , November 1st, 2025

-लक्ष्मण आचार्य-

समयको चुल्ठो निमोठेर
समग्र व्यवस्थाको ऐँजेरु मठारेर
उपस्थित छ वर्तमान
तिम्रो घर, आँगन खलियान
गाउँ, गोठ र मचानसम्म
उदाङ्गिएर सत्ताको सर्वाङ्‌ग रुप
समय आफ्नो भएर उपस्थित हुँदा
यतिखेर सपनाको फॉट
साँच्चै सुन्दर र आत्मीय भएको छ
X X X
म हिजो तिम्रा निम्ति लेख्थेँ
कामनाका कविताहरु
आकाङ्क्षाका आव्हानहरु
आशाका भविष्यहरु
हाम्रा सुन्दर सपनालाई कोतरेर
आफैलाई थिचिइरहको समय विरुद्ध
म सधैँ अग्रपङ्‌‌‌तीमा उभिन खोज्थेँ
चेतनाको मशाल बाल्न खोज्थेँ
अब तिमी मेरै आँगनमा आत्मीय भएर उभिँदा
प्राप्तिको फूल फुले झैँ लागेको छ
X X
थुप्रै यात्राहरू
लक्ष्यको थुम्कोसम्म नपुगेरै
विलय भएका बिहानहरु छन्
उपलब्धिहरू/ परिवर्तनहरू
गाउँघर, गोठ र चोकसम्म नभित्रिएरै
पराजय भएका इतिहाहरु छन्
जूनलाई छुन खोज्ने
घामझैँ बल्न खोज्ने
आगो‌झैँ न्यानो र फूलझैँ प्यारो
विगतमा तुहिएका विश्वासहरु छन्
सम्पूर्ण विरोधाभासका तगाराहरू
नाघेर आज तिमी
ओजिलो आलोक बोकेर
म छेउ उभिरहेछौ
म स्वागत‌को घडा थापिरहेछु
मेरा प्रिय आकाङ्क्षा र काम‌नाहरूको
भारी बोकेर परिवर्तनको
तिमी म छेउ आउँछौ – आउँदैनौँ हेर्न बाँकी छ ।
X X
सायद मैले अब
अधिकारका लागि लड्‌नु पर्दैन
सायद मैले अब
परिवर्तनका लागि / क्रान्तिका लागि
जीवन उत्सर्ग गर्नु पर्दैन
अन्धकार जीवन बाँच्दै
उज्यालाका लागि मर्नु पर्दैन
आशा, आकाङ्क्षा र कामनाहरु
काँधमा बोकेर मुठ्ठी कस्नु पर्दैन
मेरो आस्था र विश्वासको केन्द्र तिमी
पक्कै पराजित मान्छेहरूको पङ्तिमा उभिने छैनौँ
अरुलेझैँ मेरा सपनाहरुलाई
पक्कै तिमीले लत्याउने छैनौ
अर्थान्तरण समयमा तिमी कहाँ उभिन्छौ ?
त्यो हेर्न बाँकी छ
मलाई अब
मेरा प्यारा आकांक्षाहरुको
मेरा प्यारा कामनाहरूको
सुनौला सपनाहरुको
आशातीत भविष्यहरूको
चुक्ता हिसाब चाहिएको छ
हेरिरहेछु आफ्नो बहिखाता मिलान गर्छौ – गर्दैनौँ ?

-चन्द्रनिगाहपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्