-आरसी रिजाल-
सन्तान हुर्के लाखापाखा लागे।बुढी पनि बितिन् । बुढा एक्ले खेतको झुपडीमा गाईसंग बस्छ्न । एक छेउमा गाई बाँधेको छ । बाछो मरे तापनि बुढालाई प्राणधान्न बिहान बेलुकी एकमुठी दुध दिन्छिन् । आफुले गाई स्याहर्न नसक्ने भएपछि एकदिन –” जाउ गौमाता आजबाट तिमी स्वतन्त्र भयौ । जङ्गलमा जाउ रोजिरोजि तिमलाई मनपर्ने घाँस खाउ, उतै बस्नु ” भन्दै किलोसहित दाम्लो बाहिर फाले । तर साँझ गाई गोठमै फर्किन् ।घाँटीमा दाम्लो नबाँधिए पनि यथास्थानमै उभिइन् । यो सिलसिला जारी रहिरह्यो ।
पसु भनेर के गर्नु? बुढालाई सन्तानले छाडे पनि छाडिनन् । बुढा गल्दै गए, सिकिस्त भए । गाईले उनको मुखमा पर्नेगरी कल्चौंडोबाट दूध चुवाउथिन् । एकरात बुढाको मृत्युु हुन्छ । उनले चाल पाइन् । रातभर गोठ घुम्दै बाँ बाँ गरि कराएकोले अरुका घर अलि टाढै भएकोले बिहानी पख २/३ जना –” एक्ले बुढा गाई बांधेर कता लागे ? बुढी गाई भोकले होला रातभर कराएको काराऎ छिन् ” भन्दै आइपुगे ।
बुढाको नारी छामे सिताङ्ग । वेवारिसेझैँ बुढाको सदगत त के भन्नु लास जलाएर गाउँले फर्के । सल्लाह गरेर एकजनाले –” यो बुढी गाईले दुध नदिए पनि मलको लागि काम लाग्छिन् ” भनेर लगे । लामो समयसम्म बुढाको हेरचाहमा हुर्केकीले बुढाको असाध्यै माया लागेको हुनुपर्छ । उनको घाँटीबाट एक त्यान्द्रो घाँस छिरेन । बिरक्तिएर चरनबाट जङ्गलतिर लागिन् । पर्सिपल्ट गोठालाहरुले कथुरीलाई जङ्गलमा बाघले मारेछ भन्ने खबर ल्याए ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्