१५ कार्तिक २०८२, शनिबार

कविताः टाउकामा आगो

कोलोराडोखबर संवाददाता , November 1st, 2025

-लालगोपाल सुवेदी-
कसैको घाउमा काँढा राख्नु !
एकछिन त मजै हुन्छ
कसैको दुखाइको स्वाद चाख्नु
एकछिन त मजै हुन्छ
टाउकामा आगो राख्नु
आडम्बरको आगो ताप्नु !
ईर्ष्या मनकै झोलीमा पाक्नु

एकछिन त मजै हुन्छ
घृणाको आगो ताप्नु !
एकछिन त मजै हुन्छ
प्रतिशोधको इरादा राख्नु !
एकछिन त मजै हुन्छ
कसैलाई रुवाइको लागि
पटक पटक पासो थाप्नु !
एकछिन त मजै हुन्छ

ए घृणा !
ए घृणाको आगो !
थाहा छ ?
घृणा गर्नेलाई
घृणा गर्ने कति हुन्छन् ?
दु:ख दिनेका पनि असङ्ख्य दु:खहरू छन्
आफ्नै दुष्टमतिले
पोलिरहेको हुन्छ दुष्टमतिलाई
ती त पश्तातापको आगोले भत्भती जलेर
जीवनभरि रुन्छन् ।

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्