१४ कार्तिक २०८२, शुक्रबार

डा. शशि थापाका तीन कृति लोकार्पण

कोलोराडोखबर संवाददाता , October 31st, 2025

नेपाल । डा. शशि थापा पण्डितका तीन कृति ‘नेपाली कलामा कामकला, मल्लकालिक नेपालका नारीहरू, नागार्जुन क्षेत्रका सांस्कृतिक अध्ययन’ लोकार्पण भएको छ ।

नेपाल आदर्श महिला सङ्घ, बालाजुद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रा. दिनेशराज पन्त, प्राडा जगमान गुरुङ, प्राडा वीणा पौडेल र प्राडा पेसल दाहालले संयुक्त रूपमा डा. शशिका कृतिहरूको लोकार्पण गर्नुभयो ।

प्राडा जगमान गुरुङले नेपाली कलामा कामकला पुस्तकमाथि समीक्षा गर्दै कामकलाको प्रसङ्ग आउनेबित्तिकै अश्लील बोलेको, लेखेको भन्ने अल्पज्ञान राख्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “सृष्टिलाई अनन्त बनाउनेलगायत गहन विषय बुझाउने उक्त कलाबारे नकारात्मक टिप्पणीले यस विषयमा अनुसन्धान गर्न पुस्तक प्रकाशन गर्न लेखकहरू हिचकिचाउने वातावरणमा डा। शशिले साहस र जाँगर देखाएको छ ।

त्यसै गरी प्राडा पन्तले मल्लकालिक नेपालका नारी पुस्तकमाथि चर्चा गर्दै ऐतिहासिक विषयमा लेख्दा तत्कालीन संवत् नै उल्लेख गर्न आवश्यक हुने बताउनुभयो । उहाँले यस पुस्तकमा मल्लकालका नारीहरूको सामाजिक परिवेशका साथै राजनीतिक, आर्थिक विविध पक्षबारे लेखिएको बताउनुभयो । प्राडा पौडेलले लेखक डा। शशि थापा पण्डितका गहकिला तीन कृतिबाट पाठकले राम्रो ज्ञान पाउने र नेपाली कामकलाको अध्ययन गर्न समय लगाए पनि राम्रो विषयमा खोज अनुसन्धान भएको बताउनुभयो ।

लेखक डा। थापा पण्डितले विद्यावारिधि गर्ने क्रममा खोज अनुसन्धान गरेर तयार गरिएको पुस्तक नेपाली कलामा कामकला, मल्लकालिक नेपालका नारीहरू र नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन पुस्तकहरूको अध्ययन गरी प्रतिव्रिmया दिन आग्रह गर्नुभयो । सो अवसरमा नेपाल आदर्श महिला सङ्घले लेखक पण्डितलाई सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्