-आर. आर. चौलागाईं-
पर्दामा धूमधामसँग फिल्म चल्दै थियो । गुड्दागुड्दैको गाडी अचानक भिरबाट तल खस्यो । यात्रुहरूमध्ये कोही मरे, कोही घाइते भए, कोही अचेत भए । चालक बाँच्यो । ऊ भन्छ- “मैले गाडी राम्रोसँग चलाएको थिएँ । मेरो केही पनि गल्ती छैन । यो सब अरूले ममाथि गरेको षडयन्त्र हो । म फेरि गाडी चलाउँछु ।” त्यत्रो घटना भयो । चालकमा कुनै पिर पनि छैन । कुनै पश्चात्ताप पनि छैन । ऊ पहिलाजस्तै मस्ताना छ । गाडी कुच्चिएर एकातिर थन्किएको छ ।
छानबिन आयोग बन्यो । आयोगले चालकलाई बयानका लागि बोलायो । फेरि पनि चालक भन्दै छ- “म नियम कानुन केही पनि मान्दिनँ । बयान दिन पनि जान्नँ । मेरो गल्ती नै छैन । खोइ ! मेरो गाडी देऊ । म गाडी चलाउँछु ।”
हामी दर्शकदीर्घामा बसेर यो फिल्म हेरिरहेका छौँ अनि हामीमध्ये कोही चालकलाई ठिक भनिरहेका छौँ भने कोही बेठिक भनिरहेका छौँ ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्