-सुदीपभद्र खनाल-
अपरिचितको वास सासकै बन्छ सङ्कट
अविश्वासी रहे साथ भेद खुल्दछ यो बुझ
स्त्रीलाई मन बाँड्नाले गाँज्न सक्दछ कालले
भएमा कपटी भाइ अरू चाहिन्न शत्रु रे
धन आफन्तमा बाँडे हुन्न फिर्ता कसैगरी
बैगुनी गुनले राम्रो हुँदैन घोच्छ बेसरी
स्वार्थीलाई दिए हात डडेल्नो निल्न खोज्दछ
सर्पलाई दया गर्दा पाएमा प्राण हर्दछ
विद्या वा धनमा विद्या धन यौवनमा ठुलो
योद्दाको शक्ति हो अस्त्र शस्त्र किसानको कुलो
रूपभन्दा ठुलो सीप सीपभन्दा ठुलो गुण
दया नै गुण सर्वोच्च भन्दा स्वातन्त्र्य जीवन
स्वार्थी ले फाइदा हेर्छ निश्वार्थी राष्ट्र उन्नति
र महान् मानवी हेर्छ समग्रता समुन्नति
राम्रोमा र नराम्रोमा बुझेमा सुक्ष्म भेद छ
अज्ञानी लाग्दछन् वेदी ज्ञानी अज्ञेय वेद छ
धर्तीमा खतरा धेरै स्वयं आफैँ छ मानव
यस्तो लाग्दछ मान्छेकै भित्र बस्तछ दानव
स्वयम् मानव भित्रै छ देवत्व रूप त्यो पनि
चिन्न र बुझ्न गाह्रो छ सच्चा रूप छ के भनी
–अमेरिका

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्